इरानी नागरिकलाई अब ‘अनअराइवल’ भिसा नदिइने, अनअराइवल भिसा नपाउने मुलुक कुनकुन हुन ?

काठमाडौँ, २९ फागुन । नेपाल सरकारले इरानी नागरिकलाई दिँदै आएको ‘अनअराइवल’ भिसा (आगमन प्रवेशआज्ञा) उपलब्ध नगराउने निर्णय गरेको छ।

अध्यागमन विभागका अनुसार अब इरानी नागरिकले नेपाल भ्रमणमा आउनुअघि विदेशस्थित नेपाली नियोग वा दूतावासबाट अनिवार्य रूपमा भिसा लिनुपर्नेछ।

विभागका अनुसार सरकारी र कूटनीतिक राहदानीवाहक बाहेकका साधारण इरानी नागरिकको हकमा यो नयाँ नियम लागू हुनेछ। सुरक्षा संवेदनशीलता र अध्यागमन नीतिको पुनरावलोकन गर्दै सरकारले इरानलाई अनअराइवल भिसा नपाइने मुलुकको सूचीमा राखेको हो।

१३ पुगे अनअराइवल भिसा नपाउने मुलुक
इरान थपिएसँगै नेपाल प्रवेश गर्दा अनअराइवल भिसा नपाउने मुलुकको सङ्ख्या १३ पुगेको छ। अध्यागमन विभागका अनुसार यसअघि नाइजेरिया, घाना, जिम्वाबे, स्वीटजरल्यान्ड, क्यामेरुन, सोमालिया, लाइबेरिया, इथियोपिया, इराक, प्यालेस्टाइन, अफ्गानिस्तान र सिरियाका नागरिकलाई नेपालले पूर्वस्वीकृति विना सिधै भिसा दिने गरेको छैन।

अध्यागमन विभागका निमित्त महानिर्देशक टीकाराम ढकालका अनुसार शरणार्थीको हैसियतमा ‘ट्राभल डकुमेण्ट’ बोक्ने व्यक्तिहरूले पनि नेपाल आउनुअघि विदेशस्थित नेपाली दूतावास वा नियोगबाटै भिसा प्राप्त गर्नुपर्ने व्यवस्था गरिएको छ।

सरकारको यो निर्णयसँगै अब उल्लेखित १३ मुलुकका साधारण राहदानीवाहक नागरिकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वा अन्य सीमा नाकाका अध्यागमन विन्दुबाट सिधै भिसा प्राप्त गर्न पाउने छैनन्।