पाल्पामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु
पाल्पा, १ चैत्र । पाल्पाको बगनासकाली गाउँपालिका–२ रोकाडाँडास्थित सिद्धार्थ राजमार्गमा भएको सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ। पिकअप जिप र स्कुटर एकआपसमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको हो।
मृत्यु हुनेमा माथागढी गाउँपालिका–१ स्थायी घर भई हाल रुपन्देहीको बुटवल उपमहानगरपालिका–८ सुक्खानगर बस्दै आएका ३६ वर्षीय खिलेश्वर घर्तीमगर रहेका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक कुशलसिंह ठकुरीका अनुसार दुर्घटनामा गम्भीर घाइते हुनुभएका मगरको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा मृत्यु भएको हो।
प्रहरीका अनुसार आर्यभञ्ज्याङबाट बर्तुङतर्फ आउँदै गरेको लु १ च ३७४० नम्बरको पिकअप जिप र विपरीत दिशाबाट जाँदै गरेको लु ८४ प ४३४८ नम्बरको स्कुटर एकआपसमा ठोक्किएर उक्त दुर्घटना भएको थियो।
दुर्घटनालगत्तै जिप र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाका विषयमा आवश्यक कानुनी प्रक्रिया तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।