बाढी प्रभावित रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालन, जलविद्युत् गृहहरूमा मर्मत कार्य जारी

काठमाडौँ, २२ भदौ । भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा ठूलो क्षति पुगेपछि प्रभावित रसुवा र नुवाकोटमा विद्युत् सेवा पुनः सञ्चालनमा ल्याउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सक्रियता बढाएको छ। प्रतिकूल मौसम र भौगोलिक चुनौतीका बाबजुद हालसम्म रसुवाका ७८ प्रतिशत घरधुरीमा बिजुली बत्ती पुनः सुचारु गरिएको छ।

मन्त्रालयका अनुसार हालसम्म धादिङमा करिब ९९.८ प्रतिशत, नुवाकोटमा ९६.७ प्रतिशत र रसुवामा करिब ७८ प्रतिशत घरधुरीमा विद्युत् सेवा पुनः सञ्चालनमा ल्याइएको छ। बाँकी क्षेत्रमा विद्युत् सेवा सुचारु गर्न नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोली दुर्गम क्षेत्रहरूमा खटिएको छ।

यसैगरी, बाढीबाट क्षति पुगेका माथिल्लो त्रिशूली–३ ‘ए’, माथिल्लो त्रिशूली–३ ‘बी’, चिलिमे, रसुवागढी, लाङटाङ, माथिल्लो त्रिशूली–१ र मैलुङ खोलालगायतका जलविद्युत् आयोजनाहरूमा प्राविधिक मर्मत तथा उद्धारकार्य जारी रहेको मन्त्रालयले जनाएको छ।

चिलिमे आयोजनामा थुप्रिएको हिलो फाल्न ‘मड पम्प’, जेनेरेटर र वाटर पम्प हेलिकप्टरमार्फत पुर्‍याइएको छ। रसुवागढी आयोजनाको विद्युत्गृह तथा आसपासको क्षेत्रसम्म प्राविधिक तथा उद्धार टोली पुगेको छ भने लाङटाङ आयोजनाको निकास मार्गमा थुप्रिएको माटो र ठूला चट्टान हटाउने काम भइरहेको छ। त्यस्तै, माथिल्लो त्रिशूली–३ ‘बी’ मा मिनी एक्स्काभेटर प्रयोग गरी भग्नावशेष पन्छाउने कार्य जारी छ।

मैलुङ खोला आयोजनामा नेपाली सेना र कोरियन विशेषज्ञ टोलीले संयुक्त रूपमा स्थलगत निरीक्षण गरेका छन्। बाढी प्रभावित आयोजनाका सुरुङबाट उद्धार गरिएका प्राधिकरणका दुई कर्मचारी र एक चिनियाँ नागरिकको वीरेन्द्र सैनिक अस्पताल, काठमाडौँमा उपचार भइरहेको छ।

विद्युत् सेवा तत्काल सञ्चालन हुन समय लाग्ने रसुवाका विकट क्षेत्रका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत १३ वटा कार्यालय प्रयोजनका र ५०० वटा घरायसी प्रयोजनका सौर्य विद्युत् (सोलार) प्रणाली प्रभावित क्षेत्रमा पठाइएको छ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता मोहनकुमार शाक्यले सडक अवरुद्ध भएका क्षेत्रमा हेलिकप्टरमार्फत सौर्य प्रणाली ढुवानीको व्यवस्था मिलाइएको र थप एक हजार २६८ घरधुरी पहिचान गरी सौर्य प्रणाली वितरणको तयारी भइरहेको जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *