राष्ट्रपति पौडेलद्वारा बाढी प्रभावित नुवाकोटको स्थलगत अवलोकन, पीडितसँग अन्तरक्रिया
नुवाकोट, २२ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीबाट अति प्रभावित नुवाकोट जिल्लाको स्थलगत अवलोकन गरी त्यहाँको वस्तुस्थिति र राहत व्यवस्थापनबारे जानकारी लिनुभएको छ।
राष्ट्रपति पौडेलले जिल्ला विपद् व्यवस्थापन समिति नुवाकोटबाट बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार, राहत सामग्री वितरण, होल्डिङ सेन्टर सञ्चालन र विस्थापितहरूको पुनःस्थापनाका सम्बन्धमा भइरहेका कार्यहरूको जानकारी लिनुभयो।
सो अवसरमा नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीसहित समितिका सदस्यहरूले भोटेकोशीको बाढीले जिल्लामा पुर्याएको भौतिक तथा मानवीय क्षति र तत्काल पुनरुत्थानका लागि भइरहेका प्रयासहरूबारे राष्ट्रपति पौडेललाई विस्तृत विवरण अवगत गराउनुभएको थियो।
राष्ट्रपति पौडेलले विदुर नगरपालिका–२ स्थित कभर्ड हलमा स्थापना गरिएको होल्डिङ सेन्टरको निरीक्षण गर्नुभई त्यहाँ आश्रय लिइरहेका रसुवा र नुवाकोटका बाढी प्रभावित नागरिकहरूसँग प्रत्यक्ष कुराकानी गर्नुभएको थियो।
अन्तरक्रियाका क्रममा बाढीपीडित नागरिकहरूले अकल्पनीय बाढीका कारण आफूहरूले बेहोर्नुपरेको पीडा र धनजनको क्षतिबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए। उनीहरूले बेपत्ता भएकाहरूको खोजी कार्यलाई तीव्र बनाउन, राहत वितरणलाई प्रभावकारी बनाउन र सुरक्षित पुनःस्थापनाका लागि सरकार तथा सहयोगी संस्थाहरूसँग थप सक्रियताका साथ पहल गरिदिन राष्ट्रपति पौडेलसँग आग्रह गरेका थिए।
