अमेरिका–दक्षिण कोरिया–जापान सैन्य अभ्यासकै बीच उत्तर कोरियाद्वारा दोस्रो आधुनिक युद्धपोत सञ्चालनमा

एजेन्सी, २२ भदाै । संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया र जापानले संयुक्त सैन्य अभ्यास सुरु गरेकै दिन उत्तर कोरियाले आफ्नो दोस्रो अत्याधुनिक नौसैनिक विध्वंसक युद्धपोत सेवामा प्रवेश गराएको छ। उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले मुलुकको आणविक प्रतिरोध क्षमतालाई थप सुदृढ र व्यावहारिक बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

उत्तर कोरियाली राज्य सञ्चारमाध्यमका अनुसार नेता किमले पूर्वी बन्दरगाह सहर वोनसनमा आयोजित विशेष समारोहमा ‘काङ कोन’ नामक अत्याधुनिक विध्वंसकलाई नौसेनामा समाविष्ट गर्नुभएको हो। गत जुन महिनामा सेवामा प्रवेश गराइएको ‘चो ह्योन’ र नयाँ ‘काङ कोन’ दुवै करिब पाँच हजार टन क्षमताका विध्वंसक युद्धपोत हुन्। उत्तर कोरियाले यी दुवै युद्धपोतहरू आणविक क्षमतायुक्त क्षेप्यास्त्रले सुसज्जित रहेको दाबी गरेको छ।

समारोहमा किमका साथ उहाँकी छोरीसमेत सहभागी हुनुहुन्थ्यो, जसलाई दक्षिण कोरियाली जासुसी निकायले सम्भावित उत्तराधिकारीका रूपमा हेर्दै आएको छ। समारोहलाई सम्बोधन गर्दै किमले समुद्री रक्षा तथा युद्ध प्रतिरोधका लागि शक्तिशाली र भरपर्दो आणविक क्षमता निर्माण गर्नुपर्नेमा जोड दिनुभयो।

यसैबीच, अमेरिका, दक्षिण कोरिया र जापानले दक्षिण कोरियाको जेजु टापुनजिक पाँचदिने ‘फ्रिडम एज’ नामक संयुक्त सैन्य अभ्यास सुरु गरेका छन्। दक्षिण कोरियाले यस अभ्यासलाई रक्षात्मक र उत्तर कोरियाको आणविक खतराविरुद्ध संयुक्त प्रतिकार्य क्षमता बढाउने उद्देश्यले प्रेरित रहेको जनाएको छ।

यसअघि अमेरिका र दक्षिण कोरियाले वार्षिक ‘उल्ची फ्रिडम सिल्ड’ अभ्यास निर्धारित समयभन्दा छ दिनअघि नै समाप्त गरेका थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले उक्त सैन्य अभ्यास पर्याप्त रूपमा घटाउन निर्देशन दिएको बताउनुभएको थियो। तर, किमकी बहिनी एवं वरिष्ठ अधिकारी किम यो जोङले अभ्यासको अवधि छोट्ट्याउँदैमा यसको उत्तेजक र आक्रामक चरित्र परिवर्तन नहुने भन्दै आलोचना गर्नुभएको थियो। त्यसलगत्तै उत्तर कोरियाले १० वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो।

नेता किमले अमेरिकाले आफ्नो ‘शत्रुतापूर्ण नीति’ त्यागेर उत्तर कोरियाको आणविक हैसियतलाई सम्मान गरेमा मात्र वार्तामा फर्किन सक्ने अडान राख्दै आउनुभएको छ। सन् २०१९ को विफल कूटनीतिपछि हाल उत्तर कोरियाको विकसित आणविक कार्यक्रम तथा रुस र चीनसँगको सुदृढ सम्बन्धका कारण किम वार्तामा थप बलियो स्थितिमा पुग्नुभएको विश्लेषकहरूको बुझाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *