रसुवाको बाढीपीडितप्रति काठमाडौंमा श्रद्धाञ्जली तथा ऐक्यबद्धता, तत्काल राहत र पुनःस्थापनाको माग

काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी र लाङटाङ खोलामा आएको विनाशकारी बाढीबाट ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै काठमाडौंमा ऐक्यबद्धता कार्यक्रम सम्पन्न भएको छ।

२०८३ साल भदौ १९ गते बुधबार आएको बाढीका कारण रसुवामा ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो। बाढीमा परी धेरै नागरिकले ज्यान गुमाएका छन् भने केही अझै बेपत्ता रहेका छन्। हाल प्रभावित तथा घाइते नागरिकको खोजी, उद्धार र उपचार कार्य जारी रहेको आयोजकले जनाएको छ।

देशमा उत्पन्न यस आकस्मिक विपद्को घडीमा पीडित नागरिकप्रति ऐक्यबद्धता प्रकट गर्न काठमाडौं उपत्यकामा ‘आडभर प्याल्ती’ निकालिएको थियो। विभिन्न समुदाय तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रमको नेतृत्व आदिवासी जनजाति अधिकारकर्मी मल्ल के. सुन्दर, काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, पूर्वमन्त्री राजेन्द्र श्रेष्ठ, श्यामसिंह श्रेष्ठ, डा. ध्रुवहरि अधिकारीलगायतले गरेका थिए। कार्यक्रम संयोजनमा नेपाल भाषा तथा देव समुदायको सक्रिय सहभागिता रहेको थियो।

बसन्तपुरबाट सुरु भएको र्‍याली हनुमानढोका, मखन, बेगं, केलटोल, असन र इन्द्रचोक हुँदै शान्तिबाटिकामा पुगेर कोणसभामा परिणत भएको थियो। सो क्रममा सहभागीहरूले बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा एक मिनेट मौनधारण गर्नुका साथै राष्ट्रिय झण्डामा श्रद्धाञ्जली अर्पण गरेका थिए।

धार्मिक परम्पराअनुसार मृतकहरूको आत्माको चिरशान्तिको कामना गर्दै विभिन्न धार्मिक प्रार्थना, पाठ, तथा धूप र दीप बालेर श्रद्धाञ्जली व्यक्त गरिएको थियो।

कोणसभालाई सम्बोधन गर्दै अधिकारकर्मी मल्ल के. सुन्दरले प्राकृतिक विपद्का कारण भएको अपूरणीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरे। उनले प्रभावित परिवार तथा विस्थापित समुदायलाई राज्यको तर्फबाट तत्काल राहत, उद्धार र दीर्घकालीन पुनःस्थापनाको काम प्रभावकारी ढङ्गले अगाडि बढाउन जोड दिए।

कार्यक्रममा सहभागीहरूले विभिन्न नारासहितका प्लेकार्ड प्रदर्शन गर्दै रसुवाली बाढीपीडितहरूसँग निरन्तर ऐक्यबद्धता रहने प्रतिबद्धता जनाएका थिए। विपद्को यस कठिन समयमा राज्य, नागरिक समाज र आम नागरिकबीचको आपसी सहकार्यलाई अझ मजबुत बनाउनुपर्नेमा समेत वक्ताहरूले औंल्याएका छन्।