मुख्यमन्त्रीमाथि घुस मागेको आरोप लगाउने वन अधिकृत पक्राउ
कैलाली, २ चैत्र । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफूसँग घुस मागेको आरोप लगाउने वरिष्ठ डिभिजन वन अधिकृत कृष्णदत्त भट्ट पक्राउ परेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय परिसरबाटै नियन्त्रणमा लिएको हो।
केही दिनअघि सञ्चारमाध्यममा अन्तर्वार्ता दिँदै कैलालीको वन निर्देशनालयमा कार्यरत अधिकृत भट्टले मुख्यमन्त्री शाहले आफूसँग ५ लाख रुपैयाँ घुस मागेको गम्भीर आरोप लगाएका थिए। घुस रकम नदिएपछि मुख्यमन्त्री पूर्वाग्रही बनेर आफ्नो सरुवा गरेको उनको दाबी थियो।
उक्त अभिव्यक्तिपछि मुख्यमन्त्री शाहका स्वकीय सचिव प्रयागराज खनालले भट्टविरुद्ध विद्युतीय अपराध (साइबर क्राइम) सम्बन्धी जाहेरी दर्ता गराएका थिए। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार सोही जाहेरीका आधारमा भट्टलाई पक्राउ गरिएको हो।
मुख्यमन्त्रीमाथि गम्भीर आरोप लगाएपछि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले भट्टलाई स्पष्टीकरण सोधेको थियो। सोही स्पष्टीकरणको जवाफ बुझाउन मन्त्रालय पुगेका बेला उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ परेका भट्टलाई हाल जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखेर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।