ठमेलमा अश्लील क्रियाकलाप गर्दा पक्राउ परेका युगान्डाका २० महिला ‘डिपोर्ट’, नेपाल प्रवेशमा आजीवन रोक
काठमाडौं, ६ बैशाख । ठमेल क्षेत्रमा अवाञ्छित तथा अश्लील क्रियाकलापमा संलग्न भएको आरोपमा पक्राउ परेका युगान्डाका २० जना महिलालाई नेपालबाट डिपोर्ट (देश निकाला) गरिएको छ ।
काठमाडौं महानगरपालिका–२६ स्थित फायरचोक (ठमेल) बाट गत चैत ११ गते राति उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा ती महिलाहरूले सडकमा हिँडिरहेका पुरुषहरूको बाटो छेकेर अश्लील हर्कत गर्दै यौन क्रियाकलापका लागि मोलमोलाइ गर्ने गरेको खुलेको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, एसपी पवन भट्टराईका अनुसार पक्राउ परेका ती महिलाहरूलाई सुरुमा अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान गरिएको थियो । अनुसन्धानपश्चात् जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरू प्रत्येकलाई ५ हजार ५ सय रुपैयाँ जरिवाना तिराउने फैसला गरेको थियो ।
जरिवाना तिराएपछि प्रहरीले उनीहरूलाई अध्यागमन ऐनअन्तर्गत थप कारबाहीका लागि अध्यागमन विभागमा बुझाएको थियो । अध्यागमन विभागले ती महिलाहरूलाई डिपोर्ट (देश निकाला) गर्ने र आगामी दिनमा नेपाल प्रवेशमा पूर्ण रूपमा रोक लगाउने (ब्ल्याकलिस्ट गर्ने) निर्णय गरेको एसपी भट्टराईले जानकारी दिनुभयो ।
अध्यागमनको उक्त निर्णयपछि पक्राउ परेका सबै २० जना महिला आफ्नो देश (युगान्डा) फर्किसकेका छन् । प्रहरी अनुसन्धानको निष्कर्षअनुसार कुनै सङ्गठित गिरोहले उनीहरूलाई युगान्डाबाट नेपाल ल्याई ठमेल क्षेत्रमा राखेर यौनधन्दामा लगाउने गरेको पाइएको छ । सो गिरोहबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।