महानगरका ३२ वटै वडामा प्राथमिक उपचार तालिम दिइने, कार्यवाहक प्रमुख डंगोलद्वारा सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौं महानगरपालिका र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाबीच महानगरका ३२ वटै वडामा ‘आधारभूत प्राथमिक उपचार तालिम’ सञ्चालन गर्ने सम्झौता भएको छ ।

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आज उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । सम्झौतापत्रमा महानगरको स्वास्थ्य विभागका निर्देशक दीपक केसी र रेडक्रस काठमाडौं शाखाका सभापति श्यामकाजी डोटेलले पनि हस्ताक्षर गरेका छन् ।

यस अभियानले काठमाडौंका हरेक वडामा आपतकालीन अवस्था र दुर्घटनाका बेला तत्काल प्राथमिक उपचार गर्न सक्ने जनशक्ति तयार हुने र मानवीय क्षति न्यूनीकरणमा सहयोग पुग्ने विश्वास लिइएको छ । कार्यक्रममा महानगर र रेडक्रसका विभिन्न पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।