रौतहटमा बेमौसमी वर्षाले साढे चार करोडको इँटा नष्ट : बिमा व्यवस्था गर्न व्यवसायीको माग

काठमाडौँ, चैत १० । रौतहटमा गत शुक्रबार र शनिबार भएको बेमौसमी वर्षाका कारण जिल्लाका ५० भन्दा बढी इँटा उद्योगमा ठूलो क्षति पुगेको छ। खुला आकाशमुनि सुकाउन राखिएका करिब एक करोड ५० लाख थान काँचो इँटा वर्षाले नष्ट गर्दा व्यवसायीहरूले साढे चार करोड रुपैयाँभन्दा बढीको आर्थिक नोक्सानी व्यहोर्नुपरेको छ।

इँटा उद्योग व्यवसायी सङ्घ, रौतहटका अध्यक्ष रामविनोद साहका अनुसार एउटा काँचो इँटा उत्पादन गर्न माटो, पानी र मजदुरीसहित औसत तीन रुपियाँभन्दा बढी खर्च हुने गर्दछ। वर्षाले जिल्लाका बिके, वीर, पूजा, एमबिआई, सोना, र रामजानकी लगायतका ५० वटा उद्योगमा ठूलो नोक्सानी पुर्‍याएको उहाँले जानकारी दिनुभयो।

एसपिएल इँटा उद्योगका सञ्चालकसमेत रहनुभएका अध्यक्ष साहले पकाउनका लागि तयार पारिएका इँटा खुला स्थानमा रहेकाले जोगाउन नसकिएको बताउनुभयो। यस्तै, राधाकृष्णा इँटा उद्योगका सञ्चालक प्रेमशङ्कर यादवले पनि वर्षाका कारण लाखौँको लगानी बालुवामा मिलेको गुनासो गर्नुभयो।

पटक-पटक हुने यस्ता प्राकृतिक प्रकोपबाट सुरक्षित हुन व्यवसायीहरूले काँचो इँटाको पनि बीमा गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्। इँटा व्यवसायी महासङ्घका केन्द्रीय सदस्य मोहन साहले काँचो इँटाको बीमा नहुँदा व्यवसायीहरू पलायन हुनुपर्ने अवस्था सिर्जना भएको बताउनुभयो। “सरकारले काँचो इँटालाई पनि बीमा प्रणालीमा आबद्ध गरिदिने हो भने व्यवसायीहरूले ठूलो राहत पाउने थिए,” उहाँले भन्नुभयो।

गत वर्ष पनि बेमौसमी वर्षाकै कारण जिल्लाका इँटा उद्योगले ठूलो क्षति व्यहोरेका थिए। हाल रौतहटमा १६० उद्योग दर्ता भए तापनि विभिन्न समस्याका कारण ५७ वटा मात्र सञ्चालनमा छन्। बीमा सुविधाको अभाव र निरन्तरको प्राकृतिक अवरोधले गर्दा इँटा उद्योगहरू धमाधम बन्द हुने क्रम बढेकोमा व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन्।