विश्व क्षयरोग दिवस : सन् २०५० सम्म नेपाललाई क्षयरोगमुक्त बनाउने संकल्पसहित मनाइँदै
काठमाडौँ, चैत १० । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौँ: राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने मूल नाराका साथ आज नेपालभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरी विश्व क्षयरोग दिवस मनाइँदैछ । क्षयरोग नियन्त्रणका लागि विश्वव्यापी सचेतना फैलाउने उद्देश्यले हरेक वर्ष मार्च २४ तारिखमा यो दिवस मनाउने गरिन्छ ।
नेपाल सरकारले सन् २०३५ सम्ममा क्षयरोगको अन्त्य गर्ने र सन् २०५० सम्ममा मुलुकलाई क्षयरोगमुक्त बनाउने दीर्घकालीन लक्ष्य राखेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यस वर्षको नाराले क्षयरोग निवारणमा राष्ट्रिय अभियान, साझा जिम्मेवारी र जनसहभागिताको महत्वलाई विशेष जोड दिएको छ ।
विश्व स्वास्थ्य सङ्गठनको सन् २०२४ को प्रतिवेदनअनुसार नेपालमा वार्षिक करिब ६७ हजार नयाँ क्षयरोगका बिरामी थपिने गरेका छन्। हाल देशभरका ६ हजार २४१ स्वास्थ्य संस्थाहरूबाट क्षयरोगको उपचार सेवा प्रदान भइरहेको छ। मन्त्रालयका अनुसार ७८५ स्वास्थ्य संस्थामा माइक्रोस्कोपी सेवा र १४२ संस्थामा आधुनिक द्रुत परीक्षण सेवा निःशुल्क उपलब्ध छ ।
औषधि प्रतिरोधी क्षयरोगको उपचारका लागि ३१ वटा उपचार केन्द्र र ९८ वटा उपकेन्द्रहरू सञ्चालनमा रहेका छन्। यस्तै, सरकारले ‘क्षयरोगमुक्त नेपाल अभियान’ लाई हालसम्म १४९ स्थानीय तहमा विस्तार गरिसकेको छ ।
लक्षण र सावधानी
क्षयरोग एक सङ्क्रामक रोग भए पनि नियमित औषधि सेवनले यो पूर्ण रूपमा निको हुन्छ। मन्त्रालयले निम्न लक्षणहरू देखिएमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा गई परीक्षण गराउन आग्रह गरेको छ:
तीन हप्ता वा सोभन्दा बढी समयसम्म लगातार खोकी लाग्नु।
खकारमा रगत देखिनु।
छाती दुख्नु वा श्वास फेर्न कठिनाइ हुनु।
अकस्मात तौल घट्नु, अत्यधिक थकान महसुस हुनु र राति पसिना आउनु।
विशेषज्ञहरूका अनुसार शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्ति, धुमपान, मध्यपान वा लागुऔषध सेवन गर्नेहरूमा यसको सङ्क्रमणको जोखिम बढी रहन्छ । साथै, चिकित्सकको सल्लाहबमोजिम औषधिको पूर्ण मात्रा सेवन नगर्दा रोग पुनः बल्झिने र जटिल बन्ने खतरा रहन्छ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य मन्त्रालयको समन्वयमा सबै ७५३ स्थानीय तहलाई आ-आफ्नो क्षेत्रमा जनचेतनामूलक कार्यक्रम, अन्तर्क्रिया र स्वास्थ्य शिविरहरू आयोजना गरी दिवस मनाउन निर्देशन दिएको छ । उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गर्दै समुदायस्तरमै क्षयरोग विरुद्धको अभियानलाई प्रभावकारी बनाउन सरकारले जोड दिएको छ ।