पूर्वपश्चिम राजमार्गको गैँडाकोटमा तीन सवारीसाधन ठोक्किए, १२ जना घाइते
नवलपरासी, १६ चैत । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) स्थित गैँडाकोटमा आज बिहान तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा १२ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, गैँडाकोट नगरपालिका–९ हनुमान मन्दिर नजिक उक्त दुर्घटना भएको हो । नेपालगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको लु प्र ०१–००१ ख ०९१० नम्बरको यात्रुवाहक बसले विपरीत दिशा (गैँडाकोटबाट भेडाबारीतर्फ) जाँदै गरेको बा प्र ०१–०२८ च ५००४ नम्बरको पिकअप भ्यान र सोही दिशामा गुडिरहेको बा ३ ख ३१६३ नम्बरको मालवाहक ट्रकलाई ठक्कर दिएको थियो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का प्रहरी उपरीक्षक (एसपी) युवराज खड्काले दुर्घटनामा तीनवटै सवारीसाधनका चालक घाइते भएको जानकारी दिनुभयो । घाइते हुनेहरूमा रामेछापको खाँडादेवी गाउँपालिका–४ का ३२ वर्षीय ट्रक चालक इन्द्र तामाङ, चितवनको भरतपुर महानगरपालिका–१२ का ३३ वर्षीय पिकअप चालक दर्शन काप्री र बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२० का ४१ वर्षीय बस चालक मोहनसिंह बलामी मगर रहेका छन् ।
यसैगरी, बसमा सवार अन्य नौ जना यात्रुसमेत सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते सबैलाई तत्काल उद्धार गरी थप उपचारका लागि छिमेकी जिल्ला चितवनका अस्पतालहरूमा पठाइएको छ । दुर्घटनापछि केही बेर प्रभावित बनेको राजमार्गको यातायात सेवा हाल पूर्ण रूपमा सुचारु भइसकेको प्रहरी उपरीक्षक खड्काले बताउनुभयो ।