रूसी सेनामा भर्ती भएका १२७ नेपालीको मृत्यु भएको भन्दै राष्ट्रियसभामा चिन्ता, बेपत्ताहरूको खोजी गर्न माग
काठमाडौँ, १७ असार । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले रूसी सेनामा भर्ती भई ज्यान गुमाएका नेपालीहरूको संवेदनशीलता, बाढीपहिरो पीडितको पुनर्स्थापना, कीर्तिपुरका सुकुम्बासीहरूको बिचल्ली र संसद्प्रति सरकारको उदासीनता जस्ता गम्भीर जनसरोकारका विषय उठाएका छन्। बैठकको शून्य समयमा बोल्दै सांसदहरूले यी गम्भीर विषयहरूमा सरकारको ध्यानाकर्षण गराउनुभएको हो।
बैठकमा बोल्दै सांसद मोहम्मद खालिदले गरिबी र बेरोजगारीका कारण रूसी सेनामा भर्ती हुन पुगेकामध्ये हालसम्म १२७ जना नेपाली नागरिकको ज्यान गएको दुःखद् तथ्य प्रस्तुत गर्नुभयो। उहाँले अझै पनि करिब १०० जना नेपाली नागरिकहरू बेपत्ता रहेकाले परराष्ट्र मन्त्रालयमार्फत उनीहरूको तत्काल खोजी गर्न र सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग जोडदार माग गर्नुभयो।
सांसद जयन्तीदेवी राईले सङ्खुवासभाको सिलीचोङ गाउँपालिका–१ मा आएको भीषण बाढीपहिरोका कारण विस्थापित २८ घरपरिवारलाई तत्काल राहत तथा क्षतिपूर्ति दिन र अन्धकारमा रहेका ६०० घरधुरीमा विद्युत् आपूर्ति सुचारु गर्न आग्रह गर्नुभयो।
सांसदद्वय दुर्गा गुरुङ र सुरेश आलेमगरले कीर्तिपुरको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासीहरूलाई निश्चित रकम दिएर हटाउन लागिएको भन्दै आपत्ति जनाउनुभयो। उहाँहरूले विस्थापित २८ वर्षीय डम्बर तामाङसँग सम्बन्धित घटनाले गम्भीर मानवीय र कानुनी प्रश्न उब्जाएको भन्दै सुकुम्बासीहरूको सुरक्षित पुनर्स्थापना गर्न माग गर्नुभयो।
सांसदहरू कमला पन्त र नरबहादुर विष्टले संसद् सुरु भएको लामो समय भइसक्दा पनि सांसदहरूले शून्य र विशेष समयमा उठाएका गम्भीर प्रश्नहरूको सरकारले कुनै जवाफ नदिएको भन्दै आपत्ति जनाउनुभयो। संसद्प्रति सरकार जिम्मेवार हुनुपर्नेमा जोड दिँदै उहाँहरूले संसद्मा जबाफ दिने वातावरण मिलाउन माग गर्नुभयो।
सांसद भुवनबहादुर सुनारले सिंहदरबारभित्र करिब ७ अर्ब रुपैयाँ बराबरका सवारीसाधन जलेको विषय उल्लेख गर्दै विकास बजेट कटौती गरेर विलासी सवारीसाधन खरिद गर्ने प्रवृत्ति रोक्नुपर्ने बताउनुभयो। सांसद युवराज शर्माले प्रस्तावित सवारी तथा यातायात विधेयकमा राखिएको अत्यधिक जरिवानाको व्यवस्थाले सर्वसाधारण जनता मारमा पर्ने भन्दै सो प्रावधान सच्याउन माग गर्नुभयो। सांसद राजेन्द्रलक्ष्मी गैरेले मुलुकमा छोरीहरूको पूर्ण सुरक्षा सुनिश्चित गर्ने वातावरण बनाउन सरकारसँग माग गर्नुभयो।