काठमाडौँ महानगरपालिकाले दुई सय वर्ष पुरानो गगनेश्वर मन्दिर पुनर्निर्माण गर्दै

काठमाडौँ, २५ चैत — काठमाडौँ महानगरपालिकाले करिब दुई सय वर्ष पुरानो गगनेश्वर महादेव मन्दिरको अधुरो पुनर्निर्माण काम पूरा गर्ने निर्णय गरेको छ।

प्रदेश सरकारले उपलब्ध गराएको रकमबाट मन्दिरको निर्माण शुरु गरिएको थियो तर धन अभावका कारण काम जगमै रोकिएको थियो। वडा नं. ३२ मा अवस्थित मन्दिरलाई महानगरपालिकाले तीन तलासहित पुरानै योजनाअनुसार पुरा गर्ने तयारी गरेको छ।

महानगरका सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतले १९९० सालको भूकम्पले मन्दिर पुरै क्षति पुगेको र पुरातत्व विभागबाट समयमै अनुमति नआएको बताए। सङ्गतले लिखित दस्तावेज नहुँदा पनि गुठियार, जनश्रुति र सामाजिक मान्यतालाई आधार बनाएर पुरातत्वले निकास दिनुपर्ने जोड दिनुभयो। “हामी पैसा लगाएर काम गर्न तयार छौँ, तर नाम मात्रै प्रक्रियामा महिनौँ अलिक दैर्य गर्न सकिन्छ, वर्षौँसम्म अवरुद्ध हुनु भने अस्वीकार्य छ,” उहाँले भन्नुभयो।

वडा ३२ का वडाध्यक्ष नवराज पराजुलीले विवाद नभएका योजना तत्काल कार्यान्वयनमा ल्याइने र सर्वसहमतिमा काम अघि बढाउने संकेत गर्नुभयो। समितिका अनुसार मन्दिरलाई तीनछाने बनाउने प्रस्ताव छ र यसबारे पुरातत्व विभागसँग थप छलफल गरिनेछ। प्रारम्भिक संरचना बनेको र सोही जगमा काम अगाडि बढाउन प्राविधिक अध्ययन र तथ्याङ्क संकलन गरेर प्रतिवेदन मागिने समितिले जनाएको छ।

उक्त समितिले कोटेश्वर महादेव मन्दिरको पुनर्निर्माणसम्बन्धी मागबारे पनि छलफल गरी सामान्य मर्मतसम्भार निरन्तर राख्दै पुनर्निर्माण आवश्यकता अध्ययन गर्ने निर्णय गरेको छ।