सांस्कृतिक धराेहर बचाउन असन (असं) क्षेत्रमा ‘भेहिकल फ्री’, वैकल्पिक बाटोसहितको व्यवस्था : कार्यवाहक प्रमुख डंगोल
काठमाडौं, २५ चैत्र । ऐतिहासिक तथा व्यापारिक केन्द्र असन (असं) बजारको मौलिकता जोगाउन काठमाडौं महानगरपालिकाले आगामी वैशाख ५ गतेदेखि हरेक शनिबार सो क्षेत्रमा सवारीसाधन प्रवेश निषेध (भेहिकल फ्री) गर्ने भएको छ । धार्मिक, सांस्कृतिक, सामाजिक र व्यापारिक गतिविधि प्रवर्द्धन गर्दै ‘जीवन्त र समृद्ध असन’ निर्माण गर्ने लक्ष्यसहित महानगरले यो अभियान सुरु गर्न लागेको हो ।
यसअघि स्थानीय सङ्घसंस्था र क्लबहरूको पहलमा चैत २८ गतेदेखि नै यो नियम लागू गर्ने तयारी थियो । तर, व्यवस्थापकीय तयारीमा कुनै कमजोरी नहोस् भन्नका लागि कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको सरोकारवालाहरूको बैठकले एक साता पछाडि सार्दै वैशाख ५ गतेबाट मात्रै कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
असन (असं)को प्राचीन महत्त्व जोगाउने प्रयास
महानगरकी कार्यवाहक प्रमुख डंगोलले असनलाई ‘नुनदेखि सुनसम्म र जन्मदेखि मृत्युसम्मका सामग्री पाइने ऐतिहासिक थलो’ को सङ्ज्ञा दिँदै यसको प्राचीन महत्त्व जोगाउनु सबैको दायित्व भएको बताउनुभयो । “स्थानीयवासीको सहजता र सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर वडा कार्यालय, सरोकारवाला र स्थानीयको अपनत्वमा यो कार्यक्रम सुरु गर्दैछौँ, यसलाई दिगो बनाउनु हाम्रो मुख्य लक्ष्य हो,” उहाँले भन्नुभयो ।
महानगरपालिका वडा नम्बर २७ का अध्यक्ष योगेशकुमार खड्गीले सवारीसाधनको चाप घटाउँदा असनको वायु प्रदूषण नियन्त्रण र सहरी वातावरण सुधारमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कुन–कुन मार्गमा चल्न पाउँदैनन् गाडी ?
‘भेहिकल फ्री असन’ कार्यक्रमअन्तर्गत हरेक शनिबार मुख्य गरी तीनवटा रुटमा सवारीसाधनलाई प्रवेशमा रोक लगाइनेछ :
* कमलाक्षी चोकदेखि असनसम्म
* भोटाहिटी चोकदेखि असनसम्म
* महाबौद्धबाट असनसम्म
सवारीसाधन निषेध गरिएका यी मार्गमा गन्तव्यमा पुग्न सर्वसाधारणका लागि वैकल्पिक बाटोको व्यवस्था गरिनेछ । सुरक्षा, ट्राफिक व्यवस्थापन र पैदल मार्ग व्यवस्थापनका लागि काठमाडौं उपत्यका प्रहरी, ट्राफिक प्रहरी र महानगर प्रहरी बलले संयुक्त रूपमा काम गर्नेछन् ।
यस अभियानसँगै असन क्षेत्रलाई ‘सम्पदा मार्ग’का रूपमा विकास गरी परम्परागत तथा रैथाने व्यापार–व्यवसायको प्रवर्द्धन गर्ने र शनिबारका दिन मौलिक सांस्कृतिक तथा सामाजिक कार्यक्रमहरू सञ्चालन गर्ने महानगरपालिकाको योजना छ ।