कार्की आयोगको प्रतिवेदन ‘पूर्वाग्रही र प्रतिशोधपूर्ण’ भएको पूर्वगृहमन्त्री लेखकको दाबी, कानुनी र राजनीतिक लडाइँ जारी राख्ने घोषणा
काठमाडौं, २७ चैत्र । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले ‘जेनजी आन्दोलन’ का घटना छानबिन गर्न गठित आयोगको प्रतिवेदनलाई ‘पूर्वाग्रही र प्रतिशोधपूर्ण’ सङ्ज्ञा दिनुभएको छ । सर्वोच्च अदालतको आदेशपछि १३ दिने प्रहरी हिरासतबाट मुक्त हुनुभएका लेखकले आफूमाथि लगाइएको फौजदारी अभियोग पूर्ण रूपमा पूर्वाग्रही प्रतिवेदनमा आधारित रहेको दाबी गर्नुभएको हो ।
रिहा भएको भोलिपल्ट सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित आयोगको प्रतिवेदन अपूर्ण र अप्रमाणित रहेको जिकिर गर्नुभएको छ ।
“गत भाद्र २३ र २४ गतेको घटनाका सन्दर्भमा गठित आयोगको पूर्वाग्रही, प्रतिशोधपूर्ण, अपूर्ण र अप्रमाणित प्रतिवेदनको आधारमा फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु,” पूर्वगृहमन्त्री लेखकले फेसबुकमा लेख्नुभएको छ ।
सर्वोच्च अदालतले परमादेश जारी गरेपछि उहाँ सोमबार हिरासतमुक्त हुनुभएको थियो । उहाँले आफ्नो रिहाइका लागि आवाज उठाउने सम्पूर्ण शुभचिन्तक तथा न्यायप्रेमी नागरिकप्रति आभार व्यक्त गर्नुका साथै परमादेश जारी गर्ने सर्वोच्च अदालतप्रति उच्च सम्मान प्रकट गर्नुभएको छ ।
आफू कानुनको पालना गर्ने र न्यायमा विश्वास गर्ने व्यक्ति भएको उल्लेख गर्दै नेता लेखकले आगामी दिनमा यस विषयलाई लिएर आफ्नो कानुनी र राजनीतिक लडाइँ निरन्तर जारी रहने उद्घोषसमेत गर्नुभएको छ । “म कानुन पालना गर्ने र न्यायमा विश्वास गर्दछु, बाँकी कानुनी र राजनीतिक लडाइँ जारी रहनेछ,” उहाँले स्पष्ट पार्नुभएको छ ।