पूर्वप्रधानमन्त्री ओलीको आज शल्यक्रिया हुँदै : पित्तथैलीको पत्थरी निकालिँदै
काठमाडौं, ३० चैत्र । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीमा रहेको पत्थरीको आज (बिहीबार) शल्यक्रिया गरिँदै छ ।
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उहाँको शल्यक्रिया हुन लागेको हो । अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोकायका अनुसार, अध्यक्ष ओलीलाई शल्यक्रियाका लागि बिहान पौने ११ बजे नै अपरेसन थिएटर (शल्यक्रिया कक्ष) मा लगिसकिएको छ ।
डा. पलेस्वाँ जोशी लाखे नेतृत्वको विशेषज्ञ चिकित्सकहरूको टोलीले उहाँको शल्यक्रिया गर्नेछ । परीक्षणका क्रममा अध्यक्ष ओलीको पित्तथैलीमा २२ मिलिमिटर (एमएम) आकारको पत्थरी (ढुङ्गा) रहेको पाइएको अस्पतालले जनाएको छ ।
‘जेनजी आन्दोलन’ का घटना छानबिन गर्न गठित आयोगको सिफारिसअनुसार गत चैत २४ गते प्रहरीले उहाँलाई पक्राउ गरेको थियो । तर, सर्वोच्च अदालतको आदेशपश्चात् प्रमाण नपुगेको भन्दै चैत २६ गते उहाँलाई हिरासतमुक्त गरिएको थियो ।
पक्राउ परेलगत्तै स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उहाँलाई त्रिवि शिक्षण अस्पतालमै भर्ना गरिएको थियो । रिहा भएपछि पनि उहाँ अस्पतालमै रहेर निरन्तर उपचार गराइरहनुभएको छ ।