८२ सालको अन्तिम कारोबार दिन नेप्सेमा सामान्य गिरावट, सवा ८ अर्बको कारोबार

काठमाडौं, ३० चैत्र । नेपाली नयाँ वर्षको पूर्वसन्ध्या अर्थात् २०८२ सालको अन्तिम कारोबार दिन (बिहीबार) सेयर बजार मापक नेप्से परिसूचक सामान्य अङ्कले घटेर बन्द भएको छ । नेप्से ४.१८ अङ्कले घटेसँगै बजार २८३३ अङ्कमा खुम्चिएको छ ।

परिसूचकसँगै यस दिन बजारमा कारोबार रकममा पनि केही गिरावट आएको छ । अघिल्लो दिन करिब ९ अर्ब (८ अर्ब ९९ करोड) को कारोबार भएको बजारमा आज ८ अर्ब ६६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

बिहीबारको बजारमा १०५ वटा कम्पनीको सेयर मूल्य बढ्दा १५३ वटा कम्पनीको मूल्य घटेको छ भने १२ वटा कम्पनीको मूल्य स्थिर रह्यो ।

नेप्सेमा सूचीकृत विभिन्न उपसमूहमध्ये आज ‘होटल तथा पर्यटन’ समूह सबैभन्दा धेरै १.०२ प्रतिशतले बढेको छ । त्यसैगरी, हाइड्रोपावर ०.६६, लगानी ०.१३, उत्पादन तथा प्रशोधन ०.४० र निर्जीवन बिमा उपसमूह ०.४६ प्रतिशतले उकालो लागेका छन् ।

अर्कोतर्फ, ‘अन्य’ उपसमूह सर्वाधिक १.६२ प्रतिशतले घट्दा बैंकिङ ०.४७, विकास बैंक ०.५५, फाइनान्स ०.२९, जीवन बिमा ०.४६, माइक्रोफाइनान्स ०.४२ र व्यापार उपसमूह ०.२१ प्रतिशतले ओरालो लागेका छन् ।

समग्र बजार घट्दा पनि बिहीबार ६ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट (१० प्रतिशतको वृद्धि) लागेको छ । सुपर खुदी हाइड्रोपावर, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेस्ट इन, पाल्पा सिमेन्ट, रिजलाइन इनर्जी र शिखर पावरको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।

यसका साथै, मेन्छियाम हाइड्रोपावरको मूल्य ९.०१, उपकार लघुवित्तको ७.१७ तथा नेसनल हाइड्रोपावरको मूल्य ६.६७ प्रतिशतले बढेको छ । अर्कोतर्फ, युनिक नेपाल लघुवित्त, अभियान लघुवित्त र सान्भी इनर्जीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

कारोबार रकमका आधारमा यस दिन नेसनल हाइड्रोपावर अग्रस्थानमा रह्यो । यसपछि रिडी पावर, रिलायन्स स्पिनिङ मिल्स, आँखुखोला जलविद्युत् कम्पनी र एसवाई प्यानल सर्वाधिक कारोबार हुने शीर्ष पाँच कम्पनीभित्र पर्न सफल भएका छन् ।