टोखामा सुरु भयो विस्का जात्रा र सपनतीर्थमा मेला : नगरपालिकाद्वारा आज सार्वजनिक बिदा

काठमाडौं, २ बैशाख । नेवार समुदायको बाहुल्य रहेको काठमाडौंको उत्तरी क्षेत्रस्थित ऐतिहासिक नगरी टोखामा विस्का जात्रा सुरु भएको छ । जात्राको अवसर पारेर यहाँको प्रसिद्ध सपनतीर्थमा भव्य मेलासमेत लागेको छ ।

जात्रा व्यवस्थापन समितिका सहसंयोजक गणेशमान श्रेष्ठका अनुसार शनिबार (हिजो) मन्दिरबाट विभिन्न देवताका रथ ल्याएर गाउँ परिक्रमा गराइएको थियो । परिक्रमापश्चात् सपनविनायकको रथ यलागः टोलमा, चण्डेश्वरीको रथ थलागः टोलमा र मसानकालीको रथ भूतखेलमा लगेर बिसाइएको थियो ।

आइतबार (आज) बिहान तीनवटै रथलाई गाउँ परिक्रमा गराई मसानकालीको रथ भूतखेलको पाटीमा बिसाएर बलि पूजा लिने परम्परा रहेको छ । त्यसपछि कोठु गणेश र मसानकाली दुवै रथ थलागः टोलमा बिसाइनेछ । आजै अपराह्न तलेजु भवानीबाट विधिवत् रूपमा सिन्दुर जात्रा सुरु गरिने सहसंयोजक श्रेष्ठले जानकारी दिनुभयो ।

यसैगरी, वैशाख ३ गते बिहान तपलाक्षीः बाट सिन्दुर जात्रा गरी देवतालाई हासल टोलमा बिसाइनेछ । सोही दिन अपराह्न जीवित देवी कुमारीसहित सिन्दुर जात्रा गर्दै सरस्वती र महादेवको रथबाहेक अन्य सम्पूर्ण रथहरूलाई पोखरीमा लगेर चोख्याउने (स्नान गराउने) परम्परा छ ।

जात्राको अन्तिम दिन वैशाख ४ गते बिहान बाजागाजासहितको सिन्दुर जात्राले समग्र गाउँ परिक्रमा गर्नेछ भने वैशाख ५ गते बिहान लिङ्गो ढालेसँगै यो ऐतिहासिक जात्रा औपचारिक रूपमा समापन हुनेछ ।

यसैबीच, विस्केट जात्राको मुख्य दिनको अवसर पारेर टोखा नगरपालिकाले आज (आइतबार) नगरपालिका क्षेत्रभर सार्वजनिक बिदा दिएको छ ।

गत चैत १५ गते बसेको नगर कार्यपालिकाको बैठकले स्थानीय कला, संस्कृति र ऐतिहासिक जात्राको प्रवर्द्धन गर्ने उद्देश्यले यस दिन सार्वजनिक बिदा दिने निर्णय गरेको नगरपालिका कार्यालयले जनाएको छ । बिदाका कारण आज नगरपालिकाअन्तर्गतका सबै सरकारी कार्यालय, विद्यालय तथा सङ्घसंस्थाहरू बन्द रहनेछन् ।