तार र पोल पुगेको वर्षौं बित्यो, तर बुलिङटारमा बलेन बिजुली : ठेकेदारको लापरबाहीले स्थानीय अँध्यारोमै

नवलपरासी, ८ बैशाख । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको पहाडी क्षेत्रमा पर्ने बुलिङटार गाउँपालिकाका विभिन्न गाउँमा विद्युत्‌का पोल र तार पुगे पनि अझैसम्म बिजुली बल्न सकेको छैन ।

ठेकेदार कम्पनीको चरम लापरबाहीका कारण बुलिङटार गाउँपालिकाको अर्खला, देउरालीलगायतका गाउँमा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुग्न नसकेको हो ।

गाउँपालिका–४ (अर्खला) का वडाध्यक्ष मीनबहादुर आलेका अनुसार, गाउँमा विद्युत्‌का पोल गाडिएको र तार टाँगिएको एक वर्षभन्दा बढी समय बितिसक्दा पनि विद्युत् सुचारु गरिएको छैन । देउरालीका बासिन्दाले मिटर जडानका लागि शुल्क बुझाएको लामो समय भइसकेको छ, तर उनीहरू अझै टुकीकै भरमा छन् ।

नेपाल विद्युत् प्राधिकरणले बुलिङटारकै बोझा पोखरीमा विद्युत् सबस्टेसन सञ्चालनमा ल्याइसकेको छ । तर, त्यहाँबाट जम्मा ७/८ किलोमिटर दूरीमा रहेका गाउँहरू भने अझै अँध्यारोमा बस्न बाध्य छन् ।

वडाध्यक्ष आलेका अनुसार हाल गाउँमा लघु जलविद्युत्‌बाट बत्ती बालिरहेको भए पनि त्यो राति मात्र चल्छ । “दिउँसो गाउँलेहरू केन्द्रको बिजुलीका तार र पोल हेरेर बस्नुको विकल्प छैन,” उहाँले भन्नुभयो, “लघु जलविद्युत्‌ले सामान्य बत्ती बाल्ने काम मात्र गर्छ, ठूला विद्युतीय उपकरण चल्दैनन् ।”

दिउँसो कसैको घरमा विवाह वा पूजा भए पहिले नै सूचना दिएर मात्र लघु जलविद्युत् सञ्चालन गर्नुपर्ने बाध्यता छ । बिजुली नहुँदा वडा कार्यालयको कामकाजसमेत प्रभावित भएको छ । घाम नलागेको दिन सोलारले काम नगर्ने हुँदा सेवाग्राहीलाई प्रविधिमा आधारित सेवा दिन नसकेर फर्काउनुपरेको वडाध्यक्ष आलेले गुनासो गर्नुभयो ।

नेपाल विद्युत् प्राधिकरण, वितरण केन्द्र कावासोतीका प्रमुख शिवनारायण गोशलीले ठेकेदार कम्पनीको लापरबाहीका कारण विद्युत् विस्तारमा ढिलाइ भएको स्वीकार गर्नुभयो ।

गण्डकी प्रदेश सरकारको ‘उज्यालो गण्डकी प्रदेश’ कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७६/७७ मै यस क्षेत्रमा विद्युतीकरणको योजना अघि बढाइएको थियो । पूर्वाधार निर्माणको जिम्मा ‘युनिकर्न कन्स्ट्रक्सन’ ले पाएको भए पनि समयमै काम सम्पन्न नगर्दा स्थानीयले सास्ती खेप्नुपरेको हो ।

“केही स्थानमा पहिरोले पोलमा क्षति पुर्‍याएको थियो, अहिले बजेट विनियोजन गरी काम अगाडि बढाएका छौँ,” कार्यालय प्रमुख गोशलीले भन्नुभयो, “ठेकेदार कम्पनीलाई निरन्तर ताकेता गरिरहेका छौँ । बाँकी संरचना निर्माण सम्पन्न गरेर देउराली, अर्खला, सिङ्च्याङ हुँदै कालीगण्डकी करिडोरको कोखेटारसम्म छिट्टै बिजुली बाल्ने तयारी छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *