मध्यपूर्वमा तनाव कायमै : आणविक कार्यक्रम र क्षेप्यास्त्र क्षमतामा सम्झौता नहुने इरानको चेतावनी
एजेन्सी, १८ बैशाख । मध्यपूर्वमा बढ्दो क्षेत्रीय तनाव र अमेरिकी दबाबका बीच इरानले आफ्नो आणविक तथा क्षेप्यास्त्र क्षमताका विषयमा कुनै पनि प्रकारको सम्झौता नगर्ने स्पष्ट पारेको छ।
राज्य नियन्त्रित टेलिभिजनमार्फत सार्वजनिक गरिएको एक वक्तव्यमा इरानका सर्वोच्च नेता अयातुल्ला मोजताबा खामेनीले देशका वैज्ञानिक, प्राविधिक र सैन्य क्षमताहरू इरानको ‘राष्ट्रिय पहिचान’सँग जोडिएको भन्दै तिनको संरक्षण गर्नु अपरिहार्य रहेको बताएका छन्। उनले पर्सियन खाडी क्षेत्रमा बढ्दो अमेरिकी उपस्थितिको कडा आलोचना गर्दै त्यसलाई ‘इतिहासको नयाँ अध्याय’का रूपमा टिप्पणी गरेका छन्।
इरानको यस्तो कडा अडान त्यतिबेला आएको छ, जतिबेला अमेरिकी नाकाबन्दीका कारण इरानी अर्थतन्त्र गम्भीर सङ्कटबाट गुज्रिरहेको छ। अमेरिकी नौसेनाले इरानी तेल ट्याङ्करहरूको आवागमनमा रोक लगाएपछि इरानको तेल निर्यात नराम्ररी प्रभावित भएको छ।
विश्वको करिब २० प्रतिशत कच्चा तेल ढुवानी हुने हर्मुज जलघाँटीमा इरानको नियन्त्रण र प्रभावका कारण विश्व बजारमा तेलको आपूर्ति नै अस्थिर बन्न पुगेको छ। यसैको प्रभावस्वरूप अन्तर्राष्ट्रिय बजारमा ‘ब्रेन्ट क्रुड’ तेलको मूल्य प्रतिब्यारेल १२६ डलरसम्म पुगेको छ।
बढ्दो ऊर्जा सङ्कटले अमेरिकामा समेत राजनीतिक तथा आर्थिक दबाब बढाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाडी क्षेत्रमार्फत हुने तेल ढुवानीलाई निर्बाध रूपमा सञ्चालन गर्न नयाँ रणनीति अघि सारेको बताइएको छ। जसमा इरानी बन्दरगाहहरूमाथिको नाकाबन्दी जारी राख्दै सहयोगी राष्ट्रहरूसँग मिलेर जलमार्गको सुरक्षा गर्ने योजना समावेश छ।
यसैबीच, अमेरिकी विदेश मन्त्रालयले हर्मुज जलघाँटीमा ‘समुद्री स्वतन्त्रता’ कायम गर्न सहयोगी राष्ट्रहरूको समर्थन जुटाउन विश्वभरका आफ्ना कूटनीतिज्ञहरूलाई निर्देशन दिएको छ। इरानले भने हर्मुज जलघाँटीमा आफ्नो नियन्त्रण कायम राख्ने सङ्केत दिँदै केही जहाजहरूसँग शुल्कसमेत असुलिरहेको छ। खाडीका अरबी राष्ट्रहरूले इरानको यो कदमलाई ‘समुद्री डकैती’ को संज्ञा दिँदै कडा आलोचना गरेका छन्।
यसैबीच, अमेरिकी राष्ट्रपति ट्रम्पले युरोपमा रहेको अमेरिकी सैन्य उपस्थितिमा पुनरावलोकन गर्ने सङ्केत दिएका छन्। जर्मनीबाट सेना कटौतीको तयारी गरेको अमेरिकाले इटाली र स्पेनबाट समेत सेना फिर्ता बोलाउन सक्ने ट्रम्पको भनाइपछि युरोपेली सहयोगी राष्ट्रहरूसँगको सम्बन्धमा नयाँ बहस सिर्जना भएको छ।
इरान र अमेरिकाबीचको तनाव कम गर्न पाकिस्तानले अप्रत्यक्ष रूपमा वार्ताको सहजीकरण गरिरहेको जनाएको छ। प्रत्यक्ष संवाद भएमा समस्याको समाधान निस्कन सक्ने इस्लामाबादको बुझाइ रहे पनि हालसम्म कुनै ठोस प्रगति भने हुन सकेको छैन। इरानले आफ्नो आणविक कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण रहेको दाबी गर्दै आएको छ, तर अन्तर्राष्ट्रिय एजेन्सीहरूले इरानले उच्च स्तरमा युरेनियम प्रवर्द्धन (Enrichment) गरिरहेको पुष्टि गरिसकेका छन्।
इरानभित्र पनि सरकारविरोधी प्रदर्शन र आन्तरिक तनाव बढ्दो छ। हालै मात्र इरानले विरोध प्रदर्शनमा सहभागी भएको आरोपमा एक युवकलाई मृत्युदण्ड दिएको छ। मानव अधिकारवादी संस्थाहरूका अनुसार पछिल्लो समय इरानमा दमन र मृत्युदण्डको दर ह्वात्तै बढेको छ। राष्ट्रसङ्घको तथ्याङ्कअनुसार पछिल्लो समय कम्तीमा २१ जनालाई मृत्युदण्ड दिइसकिएको छ।
यता, क्षेत्रीय रूपमा पनि अस्थिरता गहिरिएको छ। लेबनानको दक्षिणी क्षेत्रमा इजरायल र हिजबुल्लाहबीच झडप जारी छ। युद्धविरामको प्रयासका बाबजुद भइरहेका आक्रमणमा दुवै पक्षतर्फ मानवीय क्षति भएको छ।
बढ्दो तनावलाई मध्यनजर गर्दै संयुक्त अरब इमिरेट्स (यूएई) ले इरान, लेबनान र इराकमा रहेका आफ्ना नागरिकलाई उच्च सतर्कता अपनाउन र आवश्यक परे स्वदेश फर्कन आग्रह गर्दै यात्रासम्बन्धी एड्भाइजरी जारी गरेको छ।