बीपी राजमार्गमा बाढीका कारण अलपत्र परेका ८९ यात्रुको राति नै सकुशल उद्धार, चालक पक्राउ
काभ्रेपलाञ्चोक, २२ वैशाख । बीपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–७ स्थित लास्कोट र घुमाउनेको बीचमा बाढीका कारण अलपत्र परेका यात्रुहरूको राति नै सकुशल उद्धार गरिएको छ।
सोमबारको वर्षासँगै रोशी खोलामा पानीको बहाव बढेपछि काठमाडौँतर्फ आउँदै गरेका पाँचवटा माइक्रोबस बीचमै रोकिएका थिए। अलपत्र परेका ८९ जना यात्रुलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले गएराति नै उद्धार गरी सुरक्षित रूपमा गन्तव्यतर्फ पठाएको हो।
काभ्रेका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) कोमल शाहले सुरक्षा निकायको तदारुकताका कारण रातको समयमा पनि यात्रुहरूलाई सकुशल उद्धार गर्न सफल भएको बताए। उद्धार कार्यको अनुगमन र समन्वयका लागि प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीलगायत सुरक्षा निकायका प्रमुखहरू आफैँ घटनास्थलमा खटिएका थिए।
बाढीले रोशी क्षेत्रमा बनाइएको अस्थायी डाइभर्सन बगाउन थालेपछि सोमबार साँझ ५ बजेदेखि नै सुरक्षा निकायले उक्त क्षेत्रमा यातायात आवागमन बन्द गराएको थियो। तर, प्रहरीको निर्देशनलाई बेवास्ता गर्दै जोखिमपूर्ण रूपमा यात्रु बोकेर अगाडि बढेका पाँचवटै माइक्रोबसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यात्रुको जीउधनको पर्वाह नगरी लापरबाहीपूर्ण तरिकाले सवारी चलाएको आरोपमा उनीहरूलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलको हिरासतमा राखेर अनुसन्धान भइरहेको एसपी शाहले जानकारी दिए।
लगातारको वर्षाले सम्भावित जोखिम बढाएपछि काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्मको सडकखण्डमा आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाका अनुसार राजमार्ग अवरुद्ध भएपछि अन्य सवारीसाधनलाई धुलिखेल, काभ्रेभञ्ज्याङ, मङ्गलटार र नेपालथोकमा सुरक्षित रूपमा ‘होल्ड’ गरिएको छ। प्रहरीले सडकको अवस्था नबुझी यात्रा नगर्न र अर्को सूचना जारी नभएसम्म उक्त खण्ड प्रयोग नगर्न सर्वसाधारणलाई अपिल गरेको छ।
गत वर्षको बाढीपहिरोले बीपी राजमार्गको चौकीडाँडा, रोशी र नेपालथोक क्षेत्रमा करिब १८ किलोमिटर सडक बगाएपछि खोलामै अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालन गरिँदै आइएको थियो। बेमौसमी वर्षाका कारण रोशी खोलामा बाढी आउँदा पटक–पटक यस्तो डाइभर्सन बगाउने समस्या देखिएको छ। हाल सो क्षेत्रमा डिभिजन सडक कार्यालय भक्तपुरमार्फत स्थायी सडक निर्माणको काम भइरहेको छ।