भेनेजुएला भूकम्पमा ५८ हजारभन्दा बढी भवन क्षतिग्रस्त, १,७०० को मृत्यु

एजेन्सी, १६ असार । गत हप्ता दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा आएका दुईवटा शक्तिशाली भूकम्पका कारण त्यहाँ ५८ हजारभन्दा बढी भवनहरू क्षतिग्रस्त भएको अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) को उपग्रह तथ्याङ्कले देखाएको छ। नासाद्वारा सार्वजनिक भू-उपग्रह तस्बिरहरूको प्रारम्भिक मूल्याङ्कन अनुसार ७.२ र ७.५ म्याग्निच्युडको भूकम्पमा परी हालसम्म १ हजार ७०० जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने हजारौँ नागरिक अझै बेपत्ता छन्।

अमेरिकाको ओरेगन स्टेट युनिभर्सिटीका अनुसन्धानकर्ताहरू कोरी शेर र जामोन भान डेन होकका अनुसार युरोपेली अन्तरिक्ष एजेन्सीको ‘सेन्टिनेल–१’ उच्च रिजोलुसन राडार इमेजरी उपग्रहबाट प्राप्त तथ्याङ्कका आधारमा प्रभावित क्षेत्रमा करिब ५८ हजार ८७० वटा भवनहरूमा क्षति पुगेको प्रारम्भिक निष्कर्ष निकालिएको हो।

भूकम्प गएको भोलिपल्ट जुन २५ मा सङ्कलन गरिएको उपग्रह राडार तथ्याङ्कलाई विश्लेषण गरी यो विवरण सार्वजनिक गरिएको हो। अनुसन्धानकर्ताहरूले यो द्रुत-मूल्याङ्कन तथ्याङ्क भएकाले स्थलगत रूपमा यसको आधिकारिक प्रमाणीकरणको प्रक्रिया अझै बाँकी नै रहेको जनाएका छन्।

नासाले अन्तरिक्षमा रहेका आफ्ना भू-उपग्रहहरूले जमिनमा खटिएका उद्धार टोलीहरूलाई प्रभावित क्षेत्रको क्षतिको वैज्ञानिक मूल्याङ्कन गर्न र राहत तथा उद्धारका प्रयासहरूलाई मार्गनिर्देशन गर्न महत्त्वपूर्ण तथ्याङ्कहरू उपलब्ध गराइरहेको जनाएको छ। ठूलो जनधनको क्षति भएको यस प्राकृतिक विपत्तिपछि प्रभावित क्षेत्रमा अहिले पनि खोजी तथा उद्धार कार्य तीव्र रूपमा जारी रहेको बताइएको छ।