सङ्खुवासभाको सिलिचोङमा बाढीपहिरोको वितण्डा: २८ परिवार विस्थापित, विद्युत् अवरुद्ध हुँदा ६०० घर अन्धकारमा
सङ्खुवासभा, १६ असार । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ तेन्छोङमा अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण एक सामुदायिक स्वास्थ्यचौकी र २८ वटा घरपरिवार विस्थापित भएका छन्। बाढीपहिरोका कारण दुईवटा स्थानीय लघुजलविद्युत् आयोजना र दुईवटा विद्यालयमा क्षति पुग्दा ६०० भन्दा बढी घरपरिवार अन्धकारमा बस्न बाध्य भएका छन् भने पठनपाठन पूर्ण रूपमा बन्द भएको छ।
जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार तल्लो र माथिल्लो तेन्छोङ बस्तीमा पहिरोका कारण जमिन चिरा परेर जोखिम बढेपछि २८ परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। विस्थापित हुनेहरूमा मनकुमार राई, नौबहादुर राई, मनबहादुर राई, कुन्ती राई, धनपूर्ण राई, मङ्गलबहादुर राई लगायतका परिवार छन्। पहिरोले स्थानीय तेन्छोङ सामुदायिक स्वास्थ्यचौकीलाई समेत जोखिममा पारेको छ।
जोखिमग्रस्त क्षेत्रबाट स्थानीयलाई उद्धार गर्न सिसुवा प्रहरी चौकीका साथै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक अनिल भुजेलको नेतृत्वमा १० जनाको प्रहरी टोली घटनास्थल खटिएको छ।
बाढीपहिरोका कारण स्थानीय जलविद्युत् पूर्वाधारमा गम्भीर क्षति पुगेको छ। ६० किलोवाट क्षमताको सिसुवाखोला लघुजलविद्युत् र ३० किलोवाटको चटेक्मा लघुजलविद्युत् आयोजना क्षतिग्रस्त हुँदा ६०० भन्दा बढी घरपरिवार अन्धकारमा बस्न बाध्य छन्। यसैगरी, सिसुवाखोलामा आएको बाढीले दुईवटा विद्यालय भवनमा क्षति पुर्याएपछि ती विद्यालयहरूको पठनपाठन बन्द भएको छ। विस्थापित स्थानीयहरू हाल आफन्तको आश्रय लिएर बसिरहेका छन्।
सिलिचोङ गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा सर्न अपिल गरेको छ। गाउँपालिकाका अध्यक्ष भूपालराज मेवाहाङले पहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमन, विस्थापितहरूको तत्काल व्यवस्थापन, राहत वितरण तथा दीर्घकालीन पुनःस्थापनाका लागि कोशी प्रदेश सरकार र संघीय सरकारसँग बजेट तथा आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गरिएको जानकारी दिनुभयो।