कान्ति लोकपथमा रात्रिकालीन यात्रामा रोक, साँझ ५ देखि बिहान ५ बजेसम्म गाडी चलाउन नपाइने

हेटौँडा, १६ असार । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सम्भावित प्राकृतिक विपद्को जोखिमलाई मध्यनजर गर्दै कान्ति लोकपथ (हेटौँडा–काठमाडौँ सडकखण्ड) मा रातिको समयमा यात्रा नगर्न र नगराउन सर्वसाधारणमा सार्वजनिक अपिल गरेको छ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) वसन्तराज अधिकारीद्वारा मंगलबार जारी गरिएको सूचना अनुसार असार १६ र १७ गते बेलुका ५ः०० बजेदेखि भोलिपल्ट बिहान ५ः०० बजेसम्म कान्ति लोकपथ सडकखण्ड हुँदै कुनै पनि प्रकारको यात्रा नगर्न अनुरोध गरिएको छ।

गृह मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पूर्वसतर्कता बुलेटिन अनुसार असार १६ र १७ गते देशका विभिन्न भागमा भारीदेखि अतिभारी वर्षा हुने तथा पहाडी क्षेत्रमा पहिरो खस्ने, गेग्रान बहाव आउने र सडक अवरुद्ध हुने जोखिम रहेकाले यो निर्णय लिइएको हो।

प्रशासनले वर्षात्को समयमा नदी, खोला, ताल तथा अन्य जलाशयहरूमा माछा मार्ने, पौडी खेल्ने, डुङ्गा सञ्चालन गर्ने र नदी तर्ने जस्ता जोखिमयुक्त गतिविधि नगर्न र नगराउन आग्रह गरेको छ। पहिरो, बाढी तथा डुबानको जोखिम रहेका स्थानहरूमा अनावश्यक आवतजावत नगर्न भन्दै कुनै विपद्जन्य घटना वा आपत्कालीन अवस्था सिर्जना भएमा तत्काल नजिकको सुरक्षा निकाय वा जिल्ला प्रशासन कार्यालयको आकस्मिक कार्य सञ्चालन केन्द्रको निःशुल्क फोन नम्बर ११४९ मा जानकारी गराउन भनिएको छ।

विपद्को जोखिमको स्थितिलाई मूल्याङ्कन गरी सुरक्षाकर्मीहरूले सुरक्षा संवेदनशीलताका आधारमा जिल्लाभित्रका जुनसुकै सडकहरूमा निश्चित समयका लागि सवारी आवतजावत रोक्न सक्ने भएकाले त्यस्तो अवस्थामा सुरक्षाकर्मीहरूलाई आवश्यक सहयोग र समन्वय गर्नसमेत प्रशासनले सबैसँग अनुरोध गरेको छ।