युनेस्को ‘क्रिएटिभ सिटी’ काठमाडौँको प्रतिनिधित्व गर्दै कार्यवाहक प्रमुख डंगोल कान्स प्रस्थान

काठमाडौँ,  जेठ ३  । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल विश्वप्रसिद्ध ‘कान्स फिल्म फेस्टिभल’ को ७९ औँ श्रृङ्खलामा सहभागी हुन आज फ्रान्स प्रस्थान गर्नुभएको छ । कान्सका मेयर डेभिड लिसनार्डको विशेष निमन्त्रणामा उहाँ फेस्टिभलका विभिन्न सत्रहरूमा भाग लिन त्यसतर्फ जानुभएको हो।

द्विपक्षीय सम्बन्ध र रचनात्मक सहर सञ्जाल
काठमाडौँ र कान्स दुवै संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को) को ‘क्रिएटिभ सिटीज नेटवर्क’ (रचनात्मक सहर सञ्जाल) अन्तर्गत ‘चलचित्र’ विधाका सदस्य सहरहरू हुन्। कान्सका मेयर लिसनार्डले पठाउनुभएको निमन्त्रणा पत्रमा यो फेस्टिभल रचनात्मक सहरहरूलाई एकै ठाउँमा ल्याउने र ‘अन-एयर’ शीर्षकमा सञ्चालन हुने अडियो-भिजुअल सामग्रीको विकासबारे अनुभव आदानप्रदान गर्ने महत्त्वपूर्ण अवसर भएको उल्लेख गरिएको छ।

भ्रमणका क्रममा कार्यवाहक प्रमुख डंगोलले मेयर लिसनार्ड र फेस्टिभल निर्देशकसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ। उहाँ जेठ ८ गते स्वदेश फर्कनुहुनेछ।

नेपाली चलचित्रको सहभागिता
यस वर्षको कान्स फेस्टिभलमा नेपालबाट निर्देशक अविनाश विक्रम शाहको चलचित्र ‘इलिफेन्ट इन द फग’ (Elephant in the Fog) प्रदर्शन हुँदैछ, जसले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली सिनेमाको उपस्थिति जनाउनेछ।

काठमाडौँको ‘चलचित्र सहर’ पहिचान
काठमाडौँ महानगरपालिका वि.सं. २०८० कात्तिक १४ गते युनेस्कोको ‘चलचित्र सहर’ सञ्जालको सदस्यका रूपमा चयन भएको थियो। सोही समयमा काठमाडौँसहित विश्वका २६ सहरहरू चलचित्र विधामा आवद्ध भएका थिए। हाल यो सञ्जालमा विश्वका १०० भन्दा बढी देशका ४०० सहरहरू विभिन्न ७ वटा रचनात्मक विधा (चलचित्र, संगीत, साहित्य, डिजाइन, शिल्प, ग्यास्ट्रोनमी र मिडिया कला) मा आवद्ध छन्।

पष्ठभूमि
चलचित्र विधामा सन् २००९ मा बेलायतको ब्राडफोर्ड पहिलो सहरका रूपमा छनोट भएको थियो। त्यसयता अष्ट्रेलियाको सिड्नी (२०१०), दक्षिण कोरियाको बुसान (२०१४), इटालीको रोम (२०१५), भारतको मुम्बई (२०१९) र फ्रान्सको कान्स (२०२१) जस्ता विश्वका प्रख्यात सहरहरू यस सञ्जालमा जोडिएका छन्। काठमाडौँ यस सञ्जालमा जोडिनुले नगरको सांस्कृतिक र रचनात्मक पहिचानलाई विश्वस्तरमा पुर्‍याउन मद्दत पुगेको छ।