प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माको संसदीय सुनुवाइ आजबाट: ७ उजुरी खोलिँदै, वरीयताको विवाद कायमै

काठमाडौँ, ५ जेठ । प्रधानन्यायाधीश पदमा सिफारिस हुनुभएका सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मामाथि आजदेखि संसदीय सुनुवाइको प्रक्रिया सुरु हुँदैछ। यसका लागि संघीय संसद्को संसदीय सुनुवाइ समितिको बैठक आज बिहान ८ बजे सिंहदरबारस्थित विधायन व्यवस्थापन समितिको हलमा बोलाइएको छ।

समितिकी उपसचिव सावित्रा शर्माका अनुसार आजको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध परेका उजुरीहरू खोल्ने र उहाँको कार्ययोजना सदस्यहरूलाई वितरण गर्ने कार्यसूची रहेको छ। डा. शर्माविरुद्ध सातवटा उजुरी परेको समिति स्रोतले जनाएको छ। उजुरीहरू अध्ययन गरेपछि समितिले उजुरीकर्तासँग छलफल गर्ने र त्यसपछि प्रस्तावित प्रधानन्यायाधीशलाई सुनुवाइका लागि बोलाउनेछ।

गत वैशाख २४ गते बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका चौथो वरीयतामा रहेका न्यायाधीश डा. शर्मालाई प्रधानन्यायाधीशमा नियुक्त गर्न सिफारिस गरेको थियो। संसदीय सुनुवाइ समितिले उहाँको नाम अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने संवैधानिक व्यवस्था छ।

वरिष्ठतम् न्यायाधीश एवं कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ललाई पाखा लगाएर कनिष्ठ न्यायाधीशलाई सिफारिस गरिएको भन्दै यो प्रकरण विवादरहित बन्न सकेको छैन। वरीयता मिचेर सिफारिस गरिएको भन्दै कामू प्रधानन्यायाधीश मल्लसहित सर्वोच्चका कतिपय न्यायाधीश र कानुन व्यवसायीहरूले असन्तुष्टि व्यक्त गर्दै आएका छन्।

न्यायिक वृत्तमा यसलाई ‘स्वच्छ सुनुवाइ र वरीयताको अवमूल्यन’ का रूपमा व्याख्या गरिएकाले संसदीय सुनुवाइ समितिको भूमिकालाई निकै चासोका साथ हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *