नेपाललाई पदक दिलाउने खेलाडी स्वदेश फिर्ता

काठमाडौँ, १४ असोज । जापानका दुई फरक सहरमा सम्पन्न अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पदक जित्न सफल नेपाली खेलाडीसहितको टोली बुधबार स्वदेश फर्किएको छ ।

जापानको नागोयामा सेप्टेम्बर २० देखि २३ तारिखसम्म भएको २०औँ एसियाली खेलकुद प्रतियोगिता तथा योकोहामामा सेप्टेम्बर २५ देखि २७ तारिखसम्म भएको ११औँ सितोरियो कराते डो अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फर्किएको हो ।

दुवै प्रतियोगितामा नेपालबाट तीन पुरुष र पाँच महिला गरी आठ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । एसियाली खेलकुदमा सहभागी खेलाडीले नै योकोहामामा भएको प्रतियोगितामा पनि सहभागिता जनाएका थिए ।

एसियाली खेलकुदअन्तर्गत करातेमा नेपालका लागि तेन्जिङ शेर्पाले मात्र पदक जिते । उनले पुरुष ८४ केजीमाथिको तौल समूहमा कांस्य पदक जितेका हुन् ।

तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा तेन्जिङले लाओसका खेलाडीलाई ९–१ ले पराजित गर्दै कांस्य पदक पक्का गरेका थिए । उनको पदक २०औँ एसियाली खेलकुदमा नेपालले जितेको पहिलो पदकसमेत बनेको थियो ।

एसियाडको करातेमा नेपालका लागि पदक जित्ने तेन्जिङ पाँचौँ खेलाडी हुन् । यसअघि नेपालले करातेमा एक रजत र तीन कांस्य पदक जितिसकेको छ । सन् १९९४ को हिरोसिमा एसियाडमा सीता राई, सन् १९९८ को बैंकक एसियाडमा समरबहादुर गोले तथा सन् २०१४ को इन्चोन एसियाडमा विमला तामाङले कांस्य पदक जितेका थिए । सन् २०२२ को हाङझाव एसियाडमा एरिका गुरुङले रजत पदक जितेकी थिइन् ।

यस्तै, योकोहामामा सम्पन्न ११औँ सितोरियो कराते डो अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा नेपालले दुई स्वर्ण, एक रजत र तीन कांस्य गरी छ पदक जितेको छ ।

व्यक्तिगत स्पर्धातर्फ महिला ६८ केजीमाथि एरिका गुरुङ र पुरुष ६० केजीमुनि राकेश मानन्धरले स्वर्ण पदक जिते । महिला ६८ केजीमुनि निरूपा दोङ तामाङले रजत तथा पुरुष ६७ केजीमुनि मिनबहादुर तामाङले कांस्य पदक हात पारे ।

एरिका र निरूपाले महिला टिम कुमुतेमा पनि प्रतिस्पर्धा गर्दै कांस्य पदक जिते । उक्त टोलीमा उनीहरूसहित मेघा लिम्बू, एलिसा रास्कोटी मगर र सानुमाया थिङ सहभागी थिए ।

मेघा, एलिसा र सानुमायाले महिला टिम काता स्पर्धामा पनि कांस्य पदक जिते ।

एसियाली खेलकुदमा सहभागिता जनाएपछि नेपाली टोली नागोयाबाट योकोहामा पुगेको थियो । एसियाडमा कांस्य पदक जितेका तेन्जिङले आफूले कराते यात्रा सुरु गरेको बौद्ध डोजोलगायत आफ्नो खेल यात्रामा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरे । उनले आगामी दिनमा अझ लामो यात्रा तय गर्न बाँकी रहेको बताए ।

जापानबाट स्वदेश फर्किएको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता, युवा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार सिद्धी व्यञ्जनकार, सल्लाहकार राजु सिंह, राखेप कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठ, राखेप सदस्य मोनालिशा खम्बु र ललिता नाथलगायतले स्वागत गरेका थिए ।

टोलीको स्वागतमा नेपाल कराते महासङ्घका पदाधिकारी, खेलाडी, प्रशिक्षक तथा खेलाडीका परिवारजनको समेत उपस्थिति थियो । टोलीसँगै व्यवस्थापक तथा नेपाल कराते महासङ्घका अध्यक्ष युवराज लामा, महासचिव दावा गुरुङ तथा प्रशिक्षकद्वय कुशल श्रेष्ठ र मन्डेकाजी श्रेष्ठ पनि स्वदेश फर्किएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *