बाढी प्रभावित बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना सञ्चालनमा
काठमाडौं, १४ असोज । भोटेकोशी बाढीमा आमाबुबा तथा आफन्त गुमाएका, घाइते र अपाङ्गता भएका विशेष अवस्थाका बालबालिकाको संरक्षणका लागि सरकारले दीर्घकालीन स्याहार योजना सञ्चालनमा ल्याएको छ ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबार आयोजित कार्यक्रममा बाढी प्रभावित बालबालिकाको संरक्षण, स्याहार, उपचार, शिक्षा र सामाजिक सुरक्षाका लागि योजना कार्यान्वयनमा ल्याइएको जानकारी दिएकाे हाे ।
मन्त्रालयले राष्ट्रिय बालअधिकार परिषद्मार्फत ललितपुरको गोदावरी र भोटिजोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । ती केन्द्रमा उद्धार गरिएका बालबालिकालाई आवास, पोषण, मनोसामाजिक सहयोग, दीर्घकालीन स्याहार योजना निर्माण तथा परिवार पुनर्मिलनलगायत सेवा उपलब्ध गराइँदै आएको छ ।
विपद्पछि बालबालिकाको ओसारपसार रोक्न पनि सरकारले विशेष व्यवस्था गरेको छ । बालबालिकालाई स्थानान्तरण गर्ने वा उनीहरूका सम्बन्धमा कुनै निर्णय लिँदा सम्बन्धित बालकल्याण अधिकारीको सिफारिस र राष्ट्रिय बालअधिकार परिषद्को अनुमति अनिवार्य गरिएको मन्त्रालयले जनाएकाे छ ।
बालबालिकामाथि हुने मानसिक तथा शारीरिक हिंसा, श्रमिक शोषण र डिजिटल हिंसा नियन्त्रणका लागि आवश्यक कानुन तथा नीति कार्यान्वयनमा ल्याइएको मन्त्रालयको भनाइ छ ।
मन्त्रालयले बालबालिकामाथि हुने सबैखाले हिंसा अन्त्यका लागि सङ्घ, प्रदेश र स्थानीय तहसँगै विकास साझेदार, नागरिक समाज, निजी क्षेत्र, परिवार र समुदायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको जनाइएकाे छ ।
