पूर्वन्यायाधीश हरगोविन्द सिंह प्रधानको निधन, सर्वोच्च अदालतमा आज शोक बिदा
काठमाडौँ, ७ जेठ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरगोविन्द सिंह प्रधानको निधनको शोकमा आज सर्वोच्च अदालतमा शोक बिदा दिइएको छ । बिदाका कारण आज सर्वोच्च अदालतका कुनै पनि इजलास सञ्चालन नहुने भएका छन् ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार, पूर्वन्यायाधीश प्रधानको ९७ वर्षको उमेरमा बुधबार निधन भएको हो । उहाँको निधनप्रति दुःख व्यक्त गर्दै अदालतले आज (बिहीबार) का लागि शोक बिदा दिने निर्णय गरेको हो ।
पूर्वन्यायाधीश प्रधानको निधनले न्याय क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख गर्दै सर्वोच्चले उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । शोक बिदाका कारण आजका लागि तय भएका मुद्दाको सुनुवाइ तथा अन्य न्यायिक गतिविधिहरू स्थगित भएका छन् ।