विपक्षको अवरोध र नाराबाजी बिच प्रतिनिधि सभाबाट तीन विधेयक बहुमतले स्वीकृत

काठमाडौँ, जेठ ७ । प्रतिनिधिसभाको आजको बैठकले प्रमुख प्रतिपक्षी दलहरूको विरोध र नाराबाजीका बाबजुद तीनवटा महत्वपूर्ण विधेयकहरूमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।

सदनको बैठकबाट ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’, ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको हो ।

प्रधानमन्त्री एवं गृहमन्त्री र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले उक्त तीनवटै प्रस्तावहरू सदनमा प्रस्तुत गर्नुभएको थियो । सभामुख डोलप्रसाद अर्यालले ती विधेयकहरूमाथिको सैद्धान्तिक छलफलमा भाग लिन सांसदहरूको नाम माग गरे तापनि कसैको पनि नाम प्राप्त नभएपछि प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो ।

सदनमा नाराबाजी र अवरोध
विधेयकहरू प्रस्तुत भइरहँदा सदनको वातावरण भने तनावपूर्ण रहेको थियो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले आ–आफ्नो स्थानमा उभिएर विरोध जनाएका थिए । त्यस्तै, प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरूले रोष्ट्रम घेराउ गर्दै चर्को नाराबाजी गरेका थिए ।

प्रतिपक्षको अवरोध र नाराबाजीकै बीच सभामुख अर्यालले सदनको कार्यसूची अगाडि बढाउँदै प्रस्तावहरूलाई बहुमतका आधारमा स्वीकृत भएको घोषणा गर्नुभएको थियो ।