पाल्पामा विषालु च्याउ खाँदा दुई महिलाको मृत्यु, थप १२ जना बिरामी

तानसेन, ७ जेठ । पाल्पाको रम्भा गाउँपालिका–५ फलकुनमा जङ्गली च्याउ खाँदा दुई जनाको मृत्यु भएको छ। जङ्गलबाट खोजेर ल्याएको विषालु च्याउ पकाएर खाएपछि बिरामी परेका उनीहरूको उपचारका क्रममा तानसेनस्थित मिसन अस्पतालमा मृत्यु भएको हो।

मृत्यु हुनेमा ६६ वर्षीया विनिमाया कामु मगर र ३५ वर्षीया बालकुमारी खाम्चा रहेका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार विनिमायाको सोमबार र बालकुमारीको मङ्गलबार ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) भिमलाल भट्टराईले घटनाबारे जानकारी दिँदै भन्नुभयो, “गत शुक्रबार जङ्गलबाट ल्याएको च्याउ तीन जना मिलेर खानुभएको रहेछ। शनिबार बिहानैदेखि बान्ता र झाडापखला सुरु भएपछि उनीहरूलाई अस्पताल भर्ना गरिएको थियो।”

एकको अवस्था गम्भीर, जिल्लाभर त्रास
च्याउ खाएर बिरामी परेकी ५० वर्षीया यममाया जर्घा मगरको अवस्था अझै चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। उनको अहिले मिसन अस्पतालमै उपचार भइरहेको छ।

पाल्पामा जङ्गली च्याउका कारण अन्य स्थानमा पनि मानवीय क्षति र स्वास्थ्य जोखिम बढेको छ। डीएसपी भट्टराईका अनुसार जिल्लाको तानसेन नगरपालिका, निस्दी र माथागढी गाउँपालिकामा पनि विषालु च्याउ खाएर थप १२ जना बिरामी परेका छन्।
प्रहरीले आज सार्वजनिक गरेको यो तथ्याङ्कले जिल्लामा जङ्गली च्याउको जोखिम बढेको देखाएको छ। वर्षायाम सुरु भएसँगै जङ्गलमा उम्रिने जथाभाबी च्याउ नखान र पहिचान नगरी कुनै पनि वनस्पति सेवन नगर्न स्वास्थ्यकर्मी र स्थानीय प्रशासनले सर्वसाधारणमा आग्रह गरेका छन्।