स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकल कलेजबाट बेरुजु असुलिने, ११ कलेजमाथि मन्त्रालयको कारबाही

काठमाडौँ, जेठ २५ । स्वीकृत क्षमताभन्दा बढी शय्या सञ्चालन गरिरहेका देशका विभिन्न मेडिकल कलेजहरूमाथि सरकारले कारबाही प्रक्रिया अगाडि बढाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अनुमति नलिई थप गरिएका शय्याबाट भएको आम्दानीबापतको करिब १ करोड ७८ लाख ४४ हजार बेरुजु रकम असुल गर्ने तयारी थालेको हो ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताका अनुसार, स्वास्थ्य क्षेत्रमा व्याप्त बेथिति अन्त्य गर्ने अभियानअन्तर्गत पाँच वर्षअघिदेखिको बेरुजु असुल गर्ने निर्णय गरिएको हो। राजधानीसहित देशका विभिन्न स्थानमा सञ्चालित ११ वटा मेडिकल कलेजले तोकिएको मापदण्ड विपरीत शय्या थप गरी अतिरिक्त आम्दानी गरिरहेको मन्त्रालयको ठहर छ ।

“यी कलेजहरूले स्वीकृत शय्या सङ्ख्याको मात्र कर तथा दस्तुर बुझाउने तर व्यवहारमा भने बढी शय्या सञ्चालन गरी आम्दानी लिने गरेको पाइएको छ,” मन्त्री मेहताले भन्नुभयो। महालेखा परीक्षकको प्रतिवेदनले करिब पाँच वर्षअघि नै यो अनियमितता औँल्याउँदै असुलउपर गर्न निर्देशन दिएको थियो। सोही प्रतिवेदनका आधारमा मन्त्रालयले थपिएका शय्याको दस्तुरबापतको रकम बेरुजुका रूपमा सङ्कलन गरी सरकारी सञ्चित कोषमा दाखिला गर्न लागेको हो ।

मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७६/७७ देखि नै अनुमतिबिना शय्या थप गर्ने कलेजहरूमा भरतपुरको चितवन मेडिकल कलेज, ललितपुरको मेडसिटी मेडिकल कलेज, पोखराको गण्डकी मेडिकल कलेज, विराटनगरको नोबेल मेडिकल कलेज र काठमाडौँको नेपाल मेडिकल कलेज रहेका छन्। यी लगायत अन्य कलेजहरूबाट सोही समयदेखिको बक्यौता रकम असुल गरिने मन्त्रालयले जनाएको छ।

सरकारले अन्य मेडिकल कलेजहरूको गतिविधिमाथि पनि सुक्ष्म अनुगमन गरिरहेको र नियम विपरीत कार्य गर्ने संस्थालाई कानुन बमोजिम कारबाही गरिने मन्त्री मेहताले प्रतिबद्धता व्यक्त गर्नुभयो ।