मध्यपूर्व सङ्कट उत्कर्षमा: अमेरिका र इरानबीच सिधा सैन्य मुठभेड, ट्रम्पद्वारा कडा चेतावनी

एजेन्सी, २८ जेठ । इरान र संयुक्त राज्य अमेरिकाबीच बिहीबार दोहोरो हवाई तथा मिसाइल आक्रमण भएपछि मध्यपूर्वको सैन्य सङ्कट थप गहिरिएको छ। कुवेत र बहराइनेसहितका संवेदनशील खाडी क्षेत्रमा सैन्य तनाव तीव्र बनेसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता भङ्ग गरेको आरोप लगाउँदै इरानलाई ‘ठूलो मूल्य चुकाउनुपर्ने’ चेतावनी दिनुभएको छ।

अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार बिहीबार बिहान सूर्य उदाउनुअघि अमेरिकी सैन्य टोलीले इरान लक्षित दोस्रो चरणको हवाई आक्रमण सम्पन्न गरेको छ। अमेरिकी वायुसेना, मरीन र नौसेनाले संयुक्त रूपमा सञ्चालन गरेको यस अभियानमा इरानको सैन्य निगरानी, सञ्चार र हवाई रक्षा प्रणालीलाई निशाना बनाइएको थियो। आक्रमणपछि तेहरान वरपरका क्षेत्र, बन्दर अब्बास र दक्षिणी इरानमा शक्तिशाली विस्फोटका आवाजहरू सुनिएको स्थानीय स्रोतहरूले जनाएका छन्।

यसअघि बुधबार भएको पहिलो चरणको झडपका क्रममा इरानी मिसाइल प्रहार र अमेरिकी हवाई आक्रमणका कारण बहराइन, कुवेत र जोर्डनमा क्षति पुगेको तथा एउटा अमेरिकी हेलिकप्टर खसालिएको दाबी गरिएको थियो। अमेरिकी दोस्रो चरणको हवाई हमलालगत्तै इरानले पनि बहराइनमा रहेको अमेरिकी नौसेनाको पाँचौँ फ्लीट मुख्यालय र अन्य सैन्य अखडाहरूलाई लक्षित गरी जवाफी मिसाइल प्रहार गरेको छ।

युद्धको जोखिम बढेसँगै कुवेतले आफ्नो हवाई क्षेत्र (एयरस्पेस) पूर्ण रूपमा बन्द गरी उडानहरू अन्य विमानस्थलतर्फ मोडेको छ। केही दिनअघि कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा भएको मिसाइल प्रहारमा परी एक जनाको मृत्यु हुनुका साथै दर्जनौँ नागरिक घाइते भएका थिए। बहराइनले पनि अमेरिकी नौसेना शिविर आसपास मिसाइल चेतावनी साइरन बजाउँदै उच्च सतर्कता अपनाएको छ। कुवेत र बहराइन दुवै देशले आ-आफ्ना हवाई रक्षा प्रणालीलाई पूर्ण तयारी अवस्थामा राखेका छन्।

अर्कातर्फ, इरानले रणनीतिक रूपमा अत्यन्त महत्त्वपूर्ण मानिने ‘होर्मुज जलसन्धि’ मा आफ्नो सैन्य पकड कायम राख्ने अडान दोहोर्‍याएको छ। लेबनानमा हिजबुल्लाहमाथि इजरायलको निरन्तर हवाई आक्रमण र गत सोमबारदेखि सुरु भएको इरान–इजरायल प्रत्यक्ष मुठभेडका कारण यस क्षेत्रमा कूटनीतिक मध्यस्थताका प्रयासहरू निरन्तर विफल बन्दै गएका छन्।