खौमाको पुनर्निर्मित इन्द्रायणी द्योछें उद्घाटन: सम्पदा संरक्षणको जिम्मेवारी नयाँ पुस्ताले लिनुपर्नेमा जोड

भक्तपुर, ४ भदौ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ऐतिहासिक एवं सांस्कृतिक सम्पदा संरक्षणको जिम्मेवारी अब नयाँ पुस्ताले लिनुपर्नेमा जोड दिनुभएको छ। भक्तपुरको खौमास्थित पुनर्निर्मित इन्द्रायणी द्योछेंको उद्घाटन गर्नुहुँदै उहाँले सम्पदाको जगेर्नाका लागि पुस्तान्तरण आवश्यक रहेको औँल्याउनुभयो।

अध्यक्ष बिजुक्छेंले भक्तपुरका ऐतिहासिक सम्पदा, मौलिक कला र संस्कृति आफैँमा एउटा विश्वविद्यालय भएकाले यसको अध्ययन र अनुसन्धानमा युवा पुस्ताको अभिरुचि हुनुपर्ने धारणा राख्नुभयो।

सोही अवसरमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विसं २०७२ को भूकम्पपछि क्षतिग्रस्त बनेका सम्पदाहरूको पुनर्निर्माण तथा जीर्णोद्धार कार्यलाई नगरपालिकाले प्राथमिकताका साथ अघि बढाएको जानकारी दिनुभयो। उहाँले हालसम्म नगर क्षेत्रभित्रका मठ, मन्दिर, फल्चा, ढुङ्गेधारा लगायत १८५ वटा ऐतिहासिक सम्पदाहरूको संरक्षण गरिसकिएको स्पष्ट पार्नुभयो।

इन्द्रायणी द्योछें पुनर्निर्माण उपभोक्ता समितिका अध्यक्ष विनोदचरण रायले देवघर पुनर्निर्माणका लागि कुल रु तीन करोड ७६ लाख चार हजार ४६६ खर्च भएको जानकारी दिनुभयो। यस ऐतिहासिक कार्यमा स्थानीय बासिन्दाहरूले स्वेच्छिक रूपमा करिब रु १७ लाख बराबरको भौतिक सहयोग गरेका थिए। ऐतिहासिक अभिलेखअनुसार नेपाल संवत् ८११ मा यस मन्दिरको निर्माण भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *