सुकुम्वासीको हक-अधिकार र व्यवस्थापनको माग गर्दै काठमाडौँमा प्रदर्शन
काठमाडौँ, ४ भदौ । भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरूको हक–अधिकार सुनिश्चितता र स्थायी व्यवस्थापनको माग गर्दै बिहीबार सङ्घीय राजधानी काठमाडौँमा खबरदारी र्याली निकालिएको छ।
संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा काठमाडौँ उपत्यका विशेष समितिको आयोजनामा माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शनकारीहरूको र्याली नयाँ बानेश्वर पुगेर सभामा परिणत भएको थियो। र्यालीमा सहभागीहरूले सुकुम्वासीहरूको न्यायोचित व्यवस्थापन गर्नुपर्ने, मानवअधिकार र लोकतन्त्रको सम्मान हुनुपर्ने मागसहितका प्लेकार्डहरू प्रदर्शन गरेका थिए।
आन्दोलनरत पक्षले वैकल्पिक व्यवस्थाविना गरिएको डोजर कारबाहीका कारण विस्थापित भएपछि ज्यान गुमाएका नागरिकहरूलाई भूमिअधिकार आन्दोलनको सहिद घोषणा गर्नुपर्ने माग अघि सारेका छन्। सरकार तथा स्थानीय तहको डोजर कारबाहीका कारण हालसम्म ९ जना सुकुम्वासी नागरिकले ज्यान गुमाउनुपरेको दाबी मोर्चाले गरेको छ।
उनीहरूले उज्यालो र सुरक्षित आवास पाउनु नागरिकको मौलिक अधिकार भएको भन्दै राज्यले बल प्रयोग गरेर भूमिहीनहरूलाई उठिबास गराउन नहुने बताएका छन्।