इभी आयातको नयाँ मार्ग बन्दै कोरला नाका, साउनमा भित्रिए एक सय विद्युतीय सवारी

मुस्ताङ, ४ भदौ । चालु आर्थिक वर्षको पहिलो महिनामा मुस्ताङको उत्तरी कोरला नाकाबाट एक सय वटा विद्युतीय सवारीसाधन नेपाल भित्रिएका छन्। यो नाका पछिल्लो समय चीनबाट आयात गरिने विद्युतीय सवारीसाधनको नयाँ मार्गका रूपमा विकास हुँदै गएको छ।

मुस्ताङ भन्सार कार्यालयका अनुसार साउन महिनामा यस नाकाबाट आयात भएका विद्युतीय सवारीसाधन र अन्य व्यापारिक सामग्रीहरूबाट राज्यकोषमा रु २९ करोड राजस्व सङ्कलन भएको छ। भन्सार प्रमुख विदुर चुडालले कोरला नाकाबाट हाल दैनिक रूपमा औसत १० वटा व्यापारिक कन्टेनरहरूको भन्सार जाँचपास भइरहेको जानकारी दिनुभयो।

गत आर्थिक वर्षमा कोरला नाका हुँदै कुल तीन हजार वटा विद्युतीय सवारीसाधन नेपाल आयात गरिएका थिए। गत आवमा यस नाकाबाट कुल रु छ अर्ब ९२ करोड राजस्व सङ्कलन भएको भन्सार कार्यालयको तथ्याङ्क छ। सडक पूर्वाधारको क्रमिक सुधारसँगै यो नाका व्यापारिक प्रयोजन र विशेषगरी चिनियाँ इभी आयातका लागि सहज बन्दै गएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *