लालबन्दीबाट ६६० किलो गाँजासहित दुई जना पक्राउ
काठमाडौँ, ४ भदौ । लागुऔषध नियन्त्रणका लागि नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको लालबन्दीबाट ६६० किलोग्राम प्रतिबन्धित गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
केन्द्रीय प्रहरीका अनुसार लालबन्दी नगरपालिका–१४ निवासी ६३ वर्षीय नरबहादुर थिङ र ५२ वर्षीया जेसुनमाया थिङलाई बुधबार अपराह्न पक्राउ गरिएको हो।
शङ्का लागेर प्रहरी टोलीले नरबहादुरको घरमा खानतलासी गर्दा २६ वटा बोरामा लुकाएर राखिएको ५६० किलो तथा जेसुनमायाको गोठमा राखिएका चारवटा ड्रमभित्र १०० किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा राखी लागुऔषध नियन्त्रण ऐनबमोजिम थप कानुनी अनुसन्धान अघि बढाइएको छ।