अमेरिका र क्रोएसिया पठाउने भन्दै लाखाैं रूपैयाँ ठगी गर्ने दुई जना पक्राउ
काठमाडौँ, २९ जेठ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अमेरिका र क्रोएसिया पठाउने भन्दै ४० लाख ५० हजार रुपैयाँ ठगी गर्ने उनीहरूलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरूमा दोलखाको शैलुङ गाउँपालिका–२ की ४५ वर्षीया रुकुकुमारी श्रेष्ठ र मोरङको उर्लाबारी नगरपालिका–६ का ३५ वर्षीय शैलेन्द्र शाक्य रहेका छन् ।
कार्यालयका प्रहरी उपरीक्षक (एसपी) शरतकुमार थापा क्षेत्रीका अनुसार रुकुकुमारी श्रेष्ठले एक व्यक्तिलाई अमेरिका पठाउने र त्यहाँ आकर्षक तलब हुने विश्वास दिलाएर पटक–पटक गरी ३५ लाख रुपैयाँ लिएकी थिइन् । रकम बुझेपछि उनले विदेश पनि नपठाएको र पीडितको सम्पर्कबाट समेत बाहिर रहेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।
त्यस्तै, अर्का पक्राउ परेका शैलेन्द्र शाक्यले क्रोएसिया पठाइदिने भन्दै ३ लाख ५० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । उनले पनि रकम लिएपछि पीडितलाई अलपत्र पारी सम्पर्कविहीन भएका थिए ।
काठमाडौँका विभिन्न स्थानबाट पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको एसपी थापा क्षेत्रीले जानकारी दिए ।