आज अन्तर्राष्ट्रिय अयनोत्सव दिवस : सांस्कृतिक र प्राकृतिक सम्पदाको उत्सव

काठमाडौँ, असार ७ ।  सूर्यको खगोलीय गमन र यसको मानव सभ्यतासँगको ऐतिहासिक सम्बन्धलाई स्मरण गर्दै आज विश्वभर ‘अन्तर्राष्ट्रिय अयनोत्सव दिवस’  मनाइँदै छ । वर्षमा दुई पटक हुने अयनोत्सव र विषुवजस्ता खगोलीय घटनाहरूलाई सांस्कृतिक सम्पदा, कृषि परम्परा र मानवीय पहिचानको अभिन्न अङ्ग मान्दै संयुक्त राष्ट्रसङ्घले जुन २१ लाई अन्तर्राष्ट्रिय दिवसको रूपमा मान्यता दिएको हो ।

संयुक्त राष्ट्रसङ्घीय महासभाले अयनोत्सव र विषुवलाई केवल प्राकृतिक घटनामा मात्र सीमित नगरी यसलाई भूमिको उर्वरता, खाद्य सुरक्षा र हजारौँ वर्ष पुराना परम्पराहरूको प्रतीकका रूपमा स्वीकार गरेको छ । राष्ट्रसङ्घका अनुसार संस्कृतिले समाजको आध्यात्मिक, भौतिक, बौद्धिक तथा भावनात्मक विशेषताहरूलाई समेट्ने भएकाले यस्ता पर्वहरूले विभिन्न समुदायबीच आपसी सम्मान, शान्ति र सद्भाव कायम गर्न मद्दत पुर्‍याउँछन् ।

के हो अयनोत्सव र विषुव
खगोलीय विज्ञानअनुसार, सूर्यको वार्षिक गति पृथ्वीको भूमध्यरेखाको तुलनामा सबैभन्दा उत्तरी वा दक्षिणी बिन्दुमा पुग्नुलाई अयनोत्सव भनिन्छ । जुन २१ (ग्रीष्म अयनान्त)का दिन सूर्य उत्तरी गोलाद्र्धमा सबैभन्दा उत्तर पुग्ने हुँदा वर्षकै लामो दिन र गर्मी यामको औपचारिक सुरुआत मानिन्छ । डिसेम्बर २१ (शिशिर अयनान्त) का  दिन वर्षको सबैभन्दा छोटो दिन र जाडो यामको सुरुआत हुने गर्दछ ।

विषुव, सामान्यतः मार्च २० र सेप्टेम्बर २३ मा पर्ने विषुवका समयमा दिन र रातको अवधि बराबर हुन्छ, जसले ऋतु परिवर्तनको सङ्केत गर्दछ ।

सांस्कृतिक र सामाजिक महत्त्व
अयनोत्सव र विषुवसँग सम्बन्धित ऋतुचक्रहरू प्राचीन कालदेखि नै कृषि प्रणाली र बाली भित्र्याउने समयसँग जोडिएका छन् । विश्वका विभिन्न संस्कृति र सभ्यताहरूले यसलाई विशेष धार्मिक तथा सांस्कृतिक उत्सवको रूपमा मनाउने परम्परा रहेको छ ।

सांस्कृतिक विविधतालाई मानवताको साझा सम्पत्तिका रूपमा संरक्षण गर्नुपर्नेमा जोड दिँदै राष्ट्रसङ्घले यस्ता उत्सवहरूले विश्वव्यापी रूपमा समझदारी, सहिष्णुता र सांस्कृतिक संवादलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ । आजको दिनले मानिस र प्रकृतिको अन्योन्याश्रित सम्बन्धलाई पुनर्जीवित गर्दै भावी पुस्ताका लागि सांस्कृतिक सम्पदाको जगेर्ना गर्नुपर्ने सन्देश प्रवाह गरेको छ ।