चीनको गुईझोउ प्रान्तमा भारी वर्षा र बाढी: ९ हजारभन्दा बढी विस्थापित, विद्यालयहरू बन्द
एजेन्सी, ९ असार । दक्षिणपश्चिम चीनको गुईझोउ प्रान्तका विभिन्न क्षेत्रमा भएको भारी वर्षा र बाढीका कारण ९ हजार १०० भन्दा बढी बासिन्दाहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। स्थानीय अधिकारीहरूका अनुसार अविरल वर्षा र बाढीको जोखिम बढ्दै गएपछि प्रभावित क्षेत्रका बासिन्दालाई स्थानान्तरण गरिएको हो।
अति प्रभावित क्षेत्रमध्येको एक, कियानानको बौई–मियाओ स्वायत्त प्रान्तअन्तर्गत पर्ने डुयुन सहरमा मङ्गलबार बिहान बाढी नियन्त्रणका लागि आपत्कालीन अवस्था घोषणा गरिएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै सहरका सबै विद्यालयहरू बन्द गर्न स्थानीय प्रशासनले निर्देशन दिएको छ। बाढीका कारण हालसम्म मानवीय हताहतीको कुनै विवरण भने प्राप्त नभएको चिनियाँ अधिकारीहरूले जनाएका छन्।
भारी वर्षा र पहिरोका कारण यस प्रान्तका कतिपय क्षेत्रहरूमा विद्युत् आपूर्ति पूर्ण रूपमा अवरुद्ध भएको छ। विद्युत् सेवा पुनः स्थापित गर्नका लागि १ हजारभन्दा बढी विद्युत् प्रणाली (पावर ग्रिड) मर्मतकर्मीहरूलाई प्रभावित क्षेत्रहरूमा परिचालन गरिएको छ।
प्रान्तीय मौसम विज्ञान विभागका अनुसार सोमबारदेखि मङ्गलबारसम्म यस प्रान्तका २० भन्दा बढी जिल्ला स्तरका क्षेत्रहरूमा ठूलो वर्षा भएको छ। तीमध्ये चारवटा प्रमुख मापन केन्द्रहरूमा २०० मिलिमिटरभन्दा बढी वर्षा रेकर्ड गरिएको मौसम पूर्वानुमान शाखाले जनाएको छ।