भक्तपुर अस्पतालको १२३औँ वार्षिकोत्सव: ५१ जना पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण

भक्तपुर, ७ असार । भक्तपुर अस्पतालले आफ्नो १२३औँ वार्षिकोत्सवको अवसरमा जिल्लामा क्रियाशील पत्रकारहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । बागमती प्रदेश सरकारको ‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम’ अन्तर्गत अस्पतालले नेपाल पत्रकार महासङ्घ भक्तपुर जिल्ला शाखाको समन्वयमा उक्त शिविर आयोजना गरेको हो ।

शनिबार आयोजित शिविरमा ५१ जना क्रियाशील पत्रकारको स्वास्थ्य जाँच गरिएको अस्पताल विकास समितिका अध्यक्ष ज्ञानराम श्रेष्ठले जानकारी दिनुभयो । परीक्षणका क्रममा मुटु, मिर्गौला, कलेजोलगायत शरीरका विभिन्न अङ्गको अवस्थाबारे जाँच गरिएको थियो ।
पत्रकारहरूको एक्सरे, इसिजी, युएसजी, सिबिसी, अल्ट्रासाउण्ड र लिपिड प्रोफाइललगायतका विभिन्न परीक्षणहरू गरिएको अस्पतालले जनाएको छ । अध्यक्ष श्रेष्ठका अनुसार प्रतिव्यक्ति करिब तीन हजार रुपैयाँ बराबरको स्वास्थ्य परीक्षण निःशुल्क गरिएको हो । परीक्षणको रिपोर्ट आएपछि थप उपचार आवश्यक पर्ने पत्रकारलाई अस्पतालले निःशुल्क सेवा उपलब्ध गराउने प्रतिबद्धतासमेत जनाएको छ ।

अध्यक्ष श्रेष्ठले भक्तपुर अस्पताल विगत तीन वर्षदेखि सेवा प्रवाहमा देशभरकै उत्कृष्ट अस्पतालको रूपमा दरिँदै आएको चर्चा गर्दै जनतालाई सहज र गुणस्तरीय सेवा दिन अस्पताल सधैँ तत्पर रहेको बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकारले समाचारको दौडधुपमा व्यस्त रहने पत्रकारहरूले आफ्नो स्वास्थ्यलाई बेवास्ता गरिरहेको अवस्थामा अस्पतालले गरेको यो पहल प्रशंसनीय रहेको बताउनुभयो । यस्ता कार्यक्रमले पत्रकारहरूको स्वास्थ्य अवस्था पहिचान गर्न र समयमै उपचारमा जान ठूलो सहयोग पुग्ने उहाँको विश्वास थियो ।

अस्पतालले विगतका वर्षहरूमा पनि पत्रकारहरूको स्वास्थ्यलाई प्राथमिकतामा राखेर विभिन्न उपचार एवं सहजीकरणका कार्यक्रमहरू गर्दै आएको छ ।