महानगर प्रहरीलाई नागरिकसँग नम्र हुन र कानुन कार्यान्वयनमा कडा बन्न कार्यवाहक प्रमुख सुनिता डंगोलको निर्देशन
काठमाडौँ, असार १५ । काठमाडौँ महानगरपालिकाले महानगर प्रहरी बललाई नागरिकसँगको व्यवहारमा नम्र र सरल हुन तथा कानुन कार्यान्वयनको सवालमा दृढ रहन कार्यवाहक प्रमुख सुनिता डंगोलले दिनुभएको छ । महानगर प्रहरी बलद्वारा आज वसन्तपुरबाट सुरु गरिएको सप्ताहव्यापी ‘नमस्ते सेवा अभियान’को शुभारम्भ गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो ।
सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउन र नागरिकलाई जिम्मेवार बनाउन यो अभियान थालनी गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख डंगोलले भन्नुभयो, ‘रुखो बोलेर कानुन कार्यान्वयन हुने होइन, बरु जिम्मेवारीप्रतिको इमान्दारिताले मात्र तोकिएका व्यवस्था लागू गर्न सकिन्छ । नागरिकले ‘मेरो प्रहरी’ भन्ने महसुस गर्ने गरी आफ्नो पहिचान स्थापित गर्नुहोस् र सेवालाई जनउत्तरदायी एवं गुणस्तरीय बनाउनुहोस् ।’
कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलिप घिमिरेले महानगर प्रहरीको यस नयाँ अभियानले प्रहरीलाई हेर्ने नागरिकको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो । यस्तै, सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठले परिवर्तित सन्दर्भमा प्रहरी र नागरिकबीचको सम्बन्धलाई सुमधुर बनाउन यस्ता कार्यक्रमको विशेष महत्त्व रहने उल्लेख गर्नुभयो ।
महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीका अनुसार, यस अभियानको मुख्य उद्देश्य नागरिक र प्रहरीबीचको सम्बन्धलाई थप बलियो बनाउनु र नागरिकलाई उनीहरूको दायित्वबोध गराउनु रहेको छ ।
के हो ‘नमस्ते सेवा अभियान’
यो एक सप्ताहव्यापी सचेतनामूलक कार्यक्रम हो, जसअन्तर्गत विभिन्न क्षेत्रमा खटिएका महानगर प्रहरीहरूले नागरिकसँग प्रत्यक्ष संवाद गर्नेछन् ।
पार्किङ, पैदल मार्ग र ट्राफिक व्यवस्थापनमा सहजीकरण
फोहरमैला व्यवस्थापन र अनधिकृत व्यापार नियन्त्रणमा सचेतना
सार्वजनिक सम्पत्तिको सुरक्षा, सम्पदा संरक्षण र वातावरणीय सुधार
महानगरपालिकाले गरिरहेका कामको जानकारी दिने र नागरिकबाट महानगरले राखेको अपेक्षाबारे बुझाउने
यस अभियानले नागरिक र नगर प्रहरीबीच दोहोरो संवादको वातावरण सिर्जना गरी सहरी सुशासन र सुन्दरता कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने महानगरपालिकाले अपेक्षा लिएको छ ।