गाडीले गेट त छेक्न सकिएला तर जन-आवाजहरु छेक्न सकिन्न : नेता भीष्मराज आङ्देम्बे

काठमाडौँ, ३० असार । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारले स्वतन्त्र प्रेस, प्रतिपक्ष र आलोचनात्मक आवाजलाई मनोवैज्ञानिक दबाबमा राख्न र तर्साउन खोजेको आरोप लगाएका छन्।

सोमबार कांग्रेस महामन्त्री एवं प्रतिपक्षी नेता गगनकुमार थापाको निवासका साथै सञ्चारगृहहरू कान्तिपुर, अनलाइनखबर, हिमालयन टेलिभिजन र भाटभटेनी सुपरमार्केटको गेटअगाडि शङ्कास्पद रूपमा सवारीसाधन पार्क गरिएका घटनाप्रति गम्भीर आपत्ति जनाउँदै उनले यस्तो आरोप लगाएका हुन्।

नेता आङ्देम्बेद्वारा जारी वक्तव्यमा भनिएको छ, “गेटअगाडि गाडी राखेर बाटो छेक्नु सामान्य संयोग मात्र होइन, यो आलोचनात्मक आवाज थुन्ने र प्रश्न गरेबापत परिणाम भोग्नुपर्छ भन्दै मनोवैज्ञानिक डर देखाउने प्रयास हो।” स्वतन्त्र सञ्चारमाध्यम र प्रतिपक्ष राज्यका शत्रु नभई कामकारबाहीलाई ऐना जस्तै देखाउने माध्यम भएको चर्चा गर्दै उनले ऐना फुटाएर कसैको अनुहार सुन्दर नदेखिने टिप्पणी गरे।

सरकार जनसरोकारका आधारभूत मुद्दाहरू सम्बोधन गर्न पूर्ण रूपमा असफल भएको नेता आङ्देम्बेको दाबी छ। यतिबेला सहकारी पीडितहरू सडकमा आन्दोलित रहेको, मिटरब्याज पीडितहरू तराई–मधेसदेखि न्याय खोज्दै काठमाडौँ आइरहेको र सुकुम्वासी समस्या झन् जटिल बन्दै गएको उनले उल्लेख गरेका छन्। “रोजगारी र सुशासनको प्रत्याभूति दिन नसकेपछि सरकार प्रश्न गर्नेहरू माथि नै दमन र दबाबको नीति लिन अग्रसर भएको छ,” उनले भनेका छन्।

वक्तव्यमा मुगुका २५ वर्षीय गणेश नेपालीले राज्य पक्षको दुर्व्यवहार सहन नसकी त्रिपुरेश्वरमा गरेको आत्मदाह र रोजगारीको निराशाका कारण सर्लाहीका विवेक मण्डलले गरेको आत्मदाहको प्रसंग उठाइएको छ। यस्तै सुकुम्वासीहरूमाथि राज्यद्वारा गरिएको बल प्रयोगका कारण सिर्जित कारुणिक परिस्थितिले नागरिकहरू विरक्तिएको आङ्देम्बेले औंल्याएका छन्।

नेता आङ्देम्बेले लोकतन्त्रको बाटोबाट सत्ताको नेतृत्वमा पुगेका प्रधानमन्त्रीले मानसपटलमा उत्तर कोरियाली अधिनायकवादी चिन्तन बोकेर हिँडेको भन्दै तीव्र आलोचना गरे। उनले गाडीले गेट छेके पनि जनआवाज र प्रश्नहरूको बाटो कहिल्यै छेक्न नसकिने स्पष्ट पारेका छन्।