म्याग्दीका दुई मुख्य सडकमा राति सवारी चलाउन रोक

म्याग्दी, ८ असोज । भारी वर्षाका कारण बाढी, पहिरो तथा सडक कटानको जोखिम बढेपछि म्याग्दीका दुई मुख्य सडकमा चार दिनसम्म रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ ।

स्थानीय प्रशासनले बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा असोज ११ गतेसम्म साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म कुनै पनि सवारीसाधन सञ्चालन गर्न रोक लगाएको हो ।

म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यका अनुसार भारी वर्षाका कारण हुनसक्ने विपद्को जोखिम र सम्भावित क्षति न्यूनीकरणका लागि रातिको समयमा यातायात रोक्ने निर्णय गरिएको हो ।

बेनी–जोमसोम सडकले रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्छ भने बेनी–दरवाङ सडकले मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्छ ।

जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबारदेखि आइतबारसम्म भारी वर्षाको जोखिम रहेका क्षेत्रमा म्याग्दीलाई समेत समेटेपछि प्रशासनले सतर्कता बढाएको हो ।

बाढी, पहिरो र कटानबाट हुनसक्ने क्षतिलाई ध्यानमा राख्दै धवलागिरि गाउँपालिकाले बिहीबार र शुक्रबार विद्यालय बन्द गरेको छ । बेनी नगरपालिका तथा मालिका, मङ्गला, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाले स्थानीय बिदाबाट समायोजन हुने गरी शुक्रबार शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेका छन् ।

जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार स्थानीय तह, सुरक्षा निकाय र समुदायस्तरमा सतर्कता तथा पूर्वतयारी बढाइएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताउनुभयो ।

प्रशासनले निर्माण सम्पन्न तथा निर्माणाधीन जलविद्युत् आयोजनालाई समेत आवश्यक सतर्कता अपनाउन निर्देशन दिएको छ । विपद्का बेला सडक, विद्युत्, सञ्चारलगायत आधारभूत सेवामा हुनसक्ने अवरोध हटाउन सम्बन्धित निकाय तथा सरोकारवाला संस्थासँग समन्वय गरिएको प्रजिअ गैरेले जानकारी दिनुभयो ।

बेनी–जोमसोम–कोरला सडक आयोजना, पूर्वाधार विकास कार्यालय, जिल्लाका छवटै स्थानीय तह, नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम, उद्योग वाणिज्य सङ्घ, रेडक्रस सोसाइटीलगायत सेवा प्रदायक तथा सरोकारवाला निकायलाई आवश्यक तयारीमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *