भारी वर्षाको सम्भावनापछि पदयात्रा रोक्न टानको पर्यटक तथा व्यवसायीलाई आग्रह

काठमाडौं, ८ असोज । भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले असोज ११ गतेसम्म पदयात्रा रोक्न पर्यटक तथा व्यवसायीलाई आग्रह गरेको छ ।

टानका महासचिव सोनामग्याल्जेन शेर्पाले बिहीबार विज्ञप्ति जारी गर्दै आजदेखि असोज ११ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा हुनसक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको हो ।

अविरल वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै आकस्मिक बाढी, पहिरो र डुबानको जोखिम रहेको टानले जनाएको छ । वर्षाका कारण पदयात्रा मार्ग तथा यातायात सेवा प्रभावित हुनसक्ने सम्भावनालाई ध्यानमा राखेर नयाँ पदयात्रामा ननिस्कन आग्रह गरिएको हो ।

टानले पदयात्रा गन्तव्यमा रहेका पर्यटक तथा सहयोगी टोलीलाई सुरक्षित स्थानमा राख्न व्यवसायीलाई आग्रह गरेको छ । खोला किनार, भिरालो जमिन तथा पहिरोको जोखिम भएका क्षेत्रमा नबस्न र जोखिमपूर्ण अवस्थामा पर्वतारोहण तथा अन्य साहसिक पर्यटन गतिविधि नगर्न तथा नगराउन पनि अनुरोध गरिएको छ ।

व्यवसायीलाई निरन्तर मौसमसम्बन्धी जानकारी लिइरहन तथा स्थानीय तह, सुरक्षा निकाय र संरक्षित क्षेत्रका व्यवस्थापकसँग आवश्यक समन्वय गर्न टानले आग्रह गरेको छ ।

कुनै समस्या परेमा वर्षासम्बन्धी जानकारीका लागि ११५५, विपद् सहायताका लागि १२३४, नेपाल प्रहरीको १०० र पर्यटक प्रहरीको ११४४ मा सम्पर्क गर्नसमेत टानले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *