प्रधानमन्त्री बालेन र रवि लामिछानेले संसदीय मर्यादा मिचेको भन्दै एमालेद्वारा नियमापत्ति, रुलिङ गर्न सभामुखको ध्यानाकर्षण

काठमाडौँ, ३० असार । सञ्चारगृहहरूको गेटअगाडि गाडी तेर्स्याएको विषयलाई लिएर सरकारको आलोचना भईरहँदा प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसदीय मर्यादा उल्लङ्घन गरेको भन्दै नेकपा (एमाले) ले नियमापत्ति जनाएको छ।

मंगलबारको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओली रोस्ट्रममा उभिएर बोलिरहेका बेला प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछाने एकसाथ बैठक कक्षमा प्रवेश गरेका थिए। बैठक हलभित्र प्रवेश गर्ने क्रममा उनीहरू सभामुख र बोलिरहेकी सांसदको बीच भागबाट हिँडेर आफ्नो सिटतर्फ गएका थिए, जसलाई संसदीय नियमावली विपरीत मानिन्छ।

संसद्को नियम र स्थापित मर्यादाविपरीत दुवै जना हिँडेको भन्दै एमालेका प्रमुख सचेतक ऐन महरले तत्काल बैठकमा नियमापत्ति जनाएका थिए। “सभामुख महोदय, बैठक चलिरहेको र माननीय सदस्यले बोलिरहेको अवस्थामा सभामुख र बोलिरहेको सदस्यको बीच भागबाट हिँड्नु संसदीय मर्यादाविपरीत हो। प्रधानमन्त्री र माननीय सदस्य दुवैले नियम तोड्नुभएको छ,” प्रमुख सचेतक महरले नियमापत्ति जनाउँदै भने।

प्रमुख सचेतक महरले स्थापित मर्यादा र नियम मिच्ने कार्यमा रुलिङ गर्न सभामुख डोलप्रसाद अर्यालको ध्यानाकर्षण गराएका थिए।