शेयर बजारमा नेप्से स्थिर रहँदा कारोबार रकम पौने २ अर्बले खुम्चियो
काठमाडौँ, ३ भदौ । साताको चौथो कारोबार दिन बुधबार धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक लगभग स्थिर देखिएको छ। अघिल्लो दिन १९.३४ अंकले घटेको बजारमा आज नेप्से परिसूचकमा जम्मा ०.२६ अंकको नगण्य गिरावट देखिएको हो। योसँगै नेप्से परिसूचक २६२२ विन्दुमा अडिएको छ।
परिसूचक स्थिर रहे पनि कारोबार रकममा भने उल्लेख्य गिरावट आएको छ। अघिल्लो कारोबार दिन ५ अर्ब ७ करोड रुपैयाँको सेयर किनबेच भएकोमा आज ३ अर्ब २९ करोड रुपैयाँमा सीमित भएको छ। यो अघिल्लो दिनको तुलनामा १ अर्ब ७८ करोड रुपैयाँले कम हो।
आज बजारमा कुल ११० कम्पनीको सेयर मूल्य बढेको छ भने १५० कम्पनीको मूल्यमा गिरावट आएको छ। १८ कम्पनीको मूल्य भने स्थिर रह्यो । हालै सूचीकृत भएका सर्वोत्तम सिमेन्ट र माउन्ट एभरेस्ट पावरको सेयर मूल्यमा १५ प्रतिशतको उछाल देखिएको छ। यस्तै, भगवती हाइड्रोपावर र गुराँस लघुवित्तका लगानीकर्ताले पनि कमाएका छन्। मनकामना इन्जिनियरिङ हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै ८.४५ प्रतिशतले गुमाएका छन्। रिजलाइन इनर्जी र ग्रिन डेभलपमेन्ट बैंकको मूल्य पनि ३ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ।
आज १३ वटा उपसमूहमध्ये ५ वटाको सूचक सकारात्मक रह्यो भने ७ वटाको सूचक घट्यो। तर, सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कमै रह्यो। व्यापार समूह ०.७६ प्रतिशतले बढ्दा बैंकिङ, जलविद्युत् र अन्य समूहमा सामान्य सुधार देखिएको छ। यता, फाइनान्स, होटल तथा पर्यटन र माइक्रोफाइनान्स उपसमूह भने ओरालो लागेका छन्।
रकमका आधारमा आज साहस ऊर्जा शीर्ष स्थानमा रह्यो। सोलु हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, मनकामना इन्जिनियरिङ र खानीखोला हाइड्रोपावर पनि धेरै कारोबार हुने कम्पनीको सूचीमा परेका छन्। बजारमा परिसूचक स्थिर हुनु र कारोबार रकम घट्नुले लगानीकर्ताहरू ‘पर्ख र हेर’ को अवस्थामा रहेको सङ्केत गरेको छ।