देशभर बदली र वर्षा, चार प्रदेशमा ‘भारी वर्षा’को सम्भावना

काठमाडौँ, ६ भदौ । हाल देशभर मनसुनी वायुको प्रभावका कारण अधिकांश भूभागको मौसममा बदली र वर्षाको क्रम जारी रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले देशभर सामान्यतया बदली भएको हो ।

अहिले कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभरको मौसम सामान्यतया बदली रहनेछ । देशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । यस्तै, बागमती, गण्डकी, सुदूरपश्चिम, मधेस, कोशी र लुम्बिनी प्रदेशका तराई भेगका केही स्थानमा मध्यम वर्षाको प्रक्षेपण गरिएको छ ।

विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति पनि देशभर सामान्यतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका धेरै स्थान तथा अन्य प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । रातिको समयमा कोशी र बागमती प्रदेशका पहाडी तथा तराई क्षेत्र र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने मौसम बुलेटिनमा उल्लेख छ ।