सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले पाए विश्वासको मत
धनगढी, ३ भदौ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेशसभाको आज बसेको बैठकमा मुख्यमन्त्री भट्टले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको हो ।
सभामुख भीमबहादुर भण्डारीले मत विभाजनको परिणाम सुनाउँदै मुख्यमन्त्री भट्टको पक्षमा ३१ मत परेको जानकारी दिनुभयो । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा बहुमतका लागि २७ मत आवश्यक पर्छ ।
मुख्यमन्त्री भट्टलाई उहाँकै दल नेकपा र नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले समर्थन गरेका थिए । प्रदेशसभामा नेकपाका २२ सदस्य रहे पनि सभामुख र एक जना निलम्बित सदस्यबाहेक २० जनाले मतदानमा भाग लिएका थिए । त्यस्तै, एमालेका ११ सदस्यले पनि भट्टको पक्षमा मतदान गरेसँगै उहाँको पक्षमा कुल ३१ मत पुगेको हो ।
यता, मुख्यमन्त्रीको विपक्षमा १५ मत परेको छ । विपक्षमा मतदान गर्नेहरूमा नेपाली कांग्रेसका १४ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का एक सदस्य रहेका छन् । विश्वासको मत प्राप्त गरेसँगै मुख्यमन्त्री भट्ट नेतृत्वको प्रदेश सरकारले वैधानिकता पाएको छ ।